स्पार्कको ‘स्मार्ट’ वार्षिकोत्सव

काठमाडौँ, ११ फागुन ।  ‘प्रधानमन्त्री, मन्त्री, सांसद, राजनैतिक दलका नेता वा कुनै उच्च पदस्थ अधिकारीहरु,’  काठमाडौँमा सामान्य देखि नाम चलेका अस्पतालहरुले आफ्नो बार्षिकउत्सव समारोहमा प्राथमिकता निर्धारण गरी प्रमुख अतिथि बनाउने पात्र हुन् ती ।

‘कार्यक्रमका लागि तामझामपूर्ण मञ्चको सजावट, अतिथिका लागि घण्टौको पर्खाई, अनि आइसकेपछि अतिथिका लम्बेतान भाषण,’ बार्षिकउत्सव समारोहमा प्राय देखिने र अनुभव गरिने दृश्य हुन् यी ।

तर, विहीबार राजधानीको एक चर्चित अस्पतालको बार्षिकउत्सव समारोहमा भने हामीले देख्दै आएको भन्दा केही फरक दृश्य देखियो ।

कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालको ३१ औँ बर्ष प्रवेश गरेको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिका लागि न प्रधानमन्त्री, न त कुनै मन्त्री, सांसद वा नेता नै निम्त्याइए ।

त्यहाँ त १५ र १८ वर्ष अघि गम्भीर अवस्थामा आई उपचार गरी निको भएका बिरामीहरु पो प्रमुख अतिथि भएर आए । प्रमुख अतिथिहरुले आफ्ना कुरा राख्न र अस्पतालको उज्वल भविस्यको कामना गर्न ५ मिनेट भन्दा बढी समय पनि लिएनन् ।

‘मलाई लागेको रोगलाई जीवीएस भनिदो रहेछ भन्दो रहेछ, प्यारालाइसिस हुँदा शरीरको एक भाग मात्रै चल्दैनथ्यो तर मेरो त शरीरको कुनै भाग चल्दैनथ्यो । म केवल मुढो जस्तो भएको थिएँ,’ प्रमुख अतिथि मध्येका एक कुलदीप शाक्यले १५ वर्ष अघिको आफ्नो अवस्था सम्झें ।

उनले स्पार्कमा आएर त्यसबेला गरेको प्राकृतिक विधिको उपचारकै कारण आफ्नो जीवन अहिले सम्म यसरी सक्रिय हुन सकेको बताए ।

बार्षिक उत्सवमा प्रमुख अतिथि मध्येका अर्का पूर्व बिरामी मधु प्रधानले १८ वर्ष अघि स्पार्कबाट लिएको सेवाको सम्झना गरें ।

‘नसा च्यापिएर लाष्टै भएको थियो । त्यो बेलाको त के कुरा गर्ने ? म अब सकिएँ भन्ने थियो तर यहाँको उपचारले अहिले नर्मल अवस्थामा आएँ । यसका लागि स्पार्क धन्य छ,’ आफ्नो शुभकामना शव्दमा उनले स्पार्क टीमको प्रशसाका साथ आफ्नो मन्तव्य टुंग्याए ।

अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले स्पार्कको ३० वर्षे यात्रा सम्झदै, गुणस्तरीय उपचार सेवा नै स्पार्कको सफलता भएको बताए । उनले सानो क्लिनिकबाट अस्पतालको स्वरुपमा आउनु र बिरामीहरु र तीनका आफ्न्तहरुको माया पाउनु नै स्पार्कको खास कमाई रहेको टिप्पणी गरे ।

कार्यक्रमको सञ्चालन गरेका अस्पतालका निर्देशक रुपेश अधिकारीले स्पार्कले पछिल्ला केही वर्ष देखि स्मार्ट शैलीमा बार्षिकउत्सव मनाउने गरेको बताए ।

‘हामीले बर्षभरी विरामीको सेवा गरेका छौँ । त्यसमा सफल भएका पूर्व बिरामीहरुलाई नै अतिथि बनाउँछौँ । उनीहरुको सेवामा खटिएर पनि उत्कृष्ठ ठहर भएका कर्मचारीलाई पुरस्कृत गर्दछौँ । केक काटछौँ । संगै खाना खाजा खान्छौँ । बार्षिक उत्सवलाई लम्बेतान बनाउन भन्दा स्मार्ट तरिकाले मनाउँदा सबैलाई सजिलो र छरितो हुँदो रहेछ । हाम्रा पछिल्ला बार्षिक उत्सवहरु यसै गरी मनाईने गरिएको छ,’  उनले भने ।

यसबीचमै अस्पतालले एक जना कर्मचारीलाई उत्कृष्ठ सेवा पुरस्कारबाट सम्मानित भएको घोषणा गर्‍यो । यस वर्ष फिमेल मजार डिपार्टमेन्टमा कार्यरत सुभन्ता भण्डारी ‘इम्प्लोइ अफ द इअर’ घोषित भईन । पुरस्कृत कर्मचारीलाई प्रमुख अतिथि, अस्पतालका प्रवन्ध सञ्चालकहरुले नगद खादा र प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको नयाँ कार्यसमिति सदस्यलाई सम्मान

यसैबीच अस्पतालले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य पत्रकार मञ्च नेपालको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै सम्मान गरेको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संस्थाका पदाधिकारी र कार्यसमिति सदस्य, प्रदेश संयोजक तथा सल्लाहकार हरुलाई अस्पतालमा बोलाई सम्मान गरेको हो । मञ्चमा सरोज ढुंगेल नेतृत्वको नयाँ कार्यसमिति आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *