आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस : बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित

काठमाडौँ, ३ फागुन । आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ तारिखमा बाल क्यान्सर दिवस मनाउने गरिएको छ ।

नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो ।

कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित रहेको बताए । अहिले एक तिहाई मात्र उपचार गर्न आउँछन् । आज नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइँदै छ ।

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए । उनले भने, ‘क्यान्सरको उपचार खर्चालु छ, दुईरतीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन् । अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ ।’

सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ । एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

उनका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरिकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन् ।

नेपालमा बालबालिकाको क्यान्सर कान्ति अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल लगायत उपचार हुन्छ ।

कान्तिमा गतवर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा समेत सूचीकृत गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेलले बाल क्यान्सर उपचार गरे ७० प्रतिशतलाई निको हुने बताउँछन्। क्यान्सरबाट जोगाउन बालबालिकाको उपचारमा पहुँच पुर्‍याउनुपर्छ । साथै उपचार केन्द्रलाई थप सृदढीकरण गर्नु आवश्यक रहेको उनी बताउँछन् ।

पौडेलका अनुसार गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्मका २१४ जनाको उपचार भएको थियो । अस्पतालका निर्देशक डा पौडेलले बालिकाको पाठेघरमा हुने क्यान्सरको खोप लगाउन सके यो रोग नलाग्ने बताउँछन् ।

यस्तै तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार बालबालिकाका आँखाको भित्री भागको पर्दाबाट पलाउने (रेटिनोब्लास्टो) क्यान्सर बढी हुने गरेको बताउँछिन् । पाँच वर्ष मुनिका बालबालिकालाई यस्तो समस्या हुने उनको भनाइ छ ।

उनका अनुसार यस्तो रोग १५ हजार बालबालिकामध्ये एकजनामा देखिन्छ । यसको ढिलो उपचार भएमा आँखाको सबै भागमा फैलिएर अन्धोपनजस्ता समस्या हुने भएकोले समयमा नै उपचार गर्नुपर्ने हुन्छ । तिलगङ्गामा वार्षिक ५० जना बालबालिकालाई रेटिनोब्लास्टो क्यान्सर हुने गरेको बताउँछिन् ।

यस्तै, पाटन अस्पतालका बालरोग तथा क्यान्सर रोग विशेषज्ञ डा। सुचारिका तुलाधरले अस्पतालमा दुई वर्षदेखि बाल क्यान्सरको उपचार गर्न थालिएको जानकारी दिइन् । अस्पतालमा ३० जनासम्म बाल क्यान्सर बिरामीको उपचार गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *