टर्की–सिरिया भूकम्पमा परी हालसम्म २० हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, २७ माघ । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

भूकम्पमा परेर क्षतिग्रस्त भएका भग्नावशेषहरु पन्छाउने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्।

टर्कीको प्रकोप एजेन्सीले आफ्ना १७ हजार ४ सय भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ। त्यस्तै सिरियामा भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय १७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

दुवै देशमा राहत र उद्धारको काम द्रुत गतिमा भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा पुरिएका मानिस जिउँदो हुने आशा कम हुँदै गएको छ ।

यसैबिच, कडा चिसोले भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि नयाँ चुनौती खडा गरेको छ । यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव भइरहेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै खुल्न नसकेको बताएका छन् ।

यसैबिच, विश्व स्वास्थ्य सङ्गठनले यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘तीव्र रूपमा पुर्‍याइएन’ भने, अर्को प्रकोप आउन सक्ने चेतावनी दिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले दक्षिणी टर्कीका १० प्रान्तमा तीन महिनाको आपत्काल घोषणा गरेका छन् र भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ बजे ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *