रुबेला रोग र रोकथामका उपायहरु

248
Shares

रुबेला लाई जर्मन मिजल्स पनि भनिन्छ । भाईरस शरिरमा गएको छोटो समयमै शरिरमा देखिने रोग हो जसमा दादुरा भन्दा ज्वरो कम हुन्छ र छालामा रातो बिबिराहरु आउँछन । बिरामीमा १ पटक यसको संक्रमण भएमा प्राय फेरी यो रोग लाग्दैन ।

हाल नेपालमा यो रोग नियन्त्रणको अवस्थामा छ । नेपालमा २०१९ मा रुबेलाको रोगदर (Incidence Rate) १.०४ प्रति दस लाख जनामा देखियो । २०७६ जेठ २० तदनुसार २०१९ जुन ३ सम्म देखि यो रोग नियन्त्रणमा आएको मानिएको छ ।

२०२२ को नोभेम्बर महिना यता दादुरा रुबेलाको बिरामी देखा परेको बांके जिल्लामा १ जना र बर्दिया जिल्लामा २ जना गरि ३ जना शंकास्पद बालबालिकाहरुमा रगत जाँच गर्दा रुबेला देखा परेकोले यस बाट रोग लाग्न सक्ने जोखिममा रहेका बालबालिका र गर्भबति महिलाहरु र गर्भबति हुने योजना बनाएका महिलाहरुले सर्तकता अपनाउनु आवश्यक देखिन्छ ।

कारक जीबः Rubella virus (बिषाणु)

  • रोग सर्न सक्ने अवधिः  १२ देखि २३ दिन सम्म हुन्छ । औसतमा १८ दिन सम्म (२ देखि ३ हप्ता) हुनसक्छ । यो रोग बालबालिका र वयस्कमा पनि देखिन्छ ।
  • बिरामीले अरुलाई रोग सार्ने समयः बिरामीमा रोगको लक्षण देखिनुभन्दा १ हप्ता अगाडी देखि शरीरमा बिबिरा देखिएको १ हप्ता पछि सम्म अरुलाई रोग सार्दछ ।

सर्ने माध्यमः

  • खोक्दा वा हाच्छ्यूँ गर्दाको छिटाबाट (श्वासप्रश्वास) को माध्यम बाट अर्को निरोगी ब्यक्तीमा रोग सर्दछ ।
  • यदि गर्भवती अवस्थामा आमालाई रुबेला भाईरसको संक्रमण भएमा सालको माध्यमबाट भाईरस गर्भको बच्चामा पुगेर जन्मने बच्चामा रुबेलाको कारणबाट जन्मजात बिकृतिहरु देखा पर्दछन जसलाई हामीसि.आर.एस. भन्दछौ यो जन्मने बच्चाहरुको लागी खतरा जनक अवस्था हो ।

चिन्ह र लक्षणहरू

  • हल्का ज्वरो आउँछ । आँखा रातो हुने वा आँशु बग्ने हुन्छ । (दादुरामा जति धेरै ज्वरो नआउने र विमिरा दादुरामा भन्दा अलि ठुलो हुने )
  • दादुराको बिबिरा कानको पछाडि बाट आउन सुरु भई मुख हुँदै शरीरको तल्लो भाग तिर फैलिदै जान्छ भने यसको बिबिराहरु मुखबाट देखिन सुरु भई शरीरको तल्लो भाग तिर फैलिदै जान्छ ।

कन्जेनाइटल रुबेला सिन्ड्रोम (Congenital Rubella Syndrome: CRS):

१) गर्भरहेको ६ हप्ता देखि १२ हप्ताको समय भित्र आमामा रुबेलाको संक्रमण भएमा जन्मने बच्चामा बहिरो हुने, मोतिबिन्दु, जलबिन्दु, मानसिक समस्या, मुटु सम्वन्धी समस्या लगाएत गर्भपतन हुने वा मृत्यु हुने सम्भावना बढि हुन्छ ।

२) गर्भ रहेको ४ महिना पछिको समयमा आमामा रुबेलाको संक्रमण भएमा प्राय गरेर १० प्रतिशत बच्चाहरुमा बहिरो हुने लगाएत जन्मजात बिकृति हुने सम्भावना हुन्छ ।

३) महिला गर्भवति भएको पहिलो ४ महिना भित्र रुवेलाबाट संक्रमण भएमा हुने अवस्था कन्जेनाइटल रुबेला सिन्ड्रोम प्रति १००० जना जिवित जन्ममा ०.१ देखि ०.२ मा देखिन सक्छ, जुन माहामारीको बेला ४ प्रति १००० जना जिवित जन्म सम्म पुग्छ ।

गर्भावस्थामा संक्रमण भए सि.आर.एस.मा हुने जन्मजात विकृतिहरु

  • गर्भपतन हुने वा मृत शिशु जन्मिने
  • कानमा हुने विकृति (बहिरोपना)
  • आँखामा हुने विकृति (अन्धोपना)
  • मुटुमा हुने विकृति
  • मस्तिष्कमा हुने विकृतिः पूर्ण रुपले वृद्धि नभई सानो हुने, मानसिक मन्दता हुने
  • कलेजो र फियोमा असर

रुबेला रोग लागेमा हुने जटिलताहरू
 हाड जोर्नीहरू सुन्निने वा दुख्ने
 रक्तश्राव हुने
 मस्तिष्कमा कडा खालको सुजन हुने
 जटिलताको कारण मुत्यु पनि हुन सक्ने ।

बालबालिकाहरुमा दादुरा रुबेला रोग देखा परेमा गरिने उपचार तथा रोकथाम

१) रुबेला भाईरसको कारणबाट हुने रोग भएकोले यसको बिशेष उपचार छैन । यो अवस्थामा विरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ, ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्तालागेको पहिलो र दोस्रो दिन गरि २ मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ । एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्दछ त्यसैकारण बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिका संगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ । बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, ब्यक्तीगत सरसफाईमा ध्यान दिनुपर्दछ ।

२) बिरामीको संम्पर्कमा गर्भबति तथा गर्भराख्ने योजना बनाएका महिलाहरु संम्पर्कमा आउन दिनु हुँदैन, गर्भरहेको अवस्थामा बिरामीको संपर्कमा आई आमालाई रुवेला भाईरस सरेमा आमाबाट जन्मने बच्चामा कन्जेनाईटल रुबेला सिन्ड्रोम (सि.आ.एस.) हुने सम्भावना हुन्छ ।

३) बच्चाहरुलाई समयमानै दादुरा–रुबेला मिश्रित खोप २ मात्रा (९ महिना र १५ महिनामा) लगाएमा यो रोगबाट बचाउन सकिन्छ ।

४) हाम्रो देशमा दादुरा रुबेला बिरुद्धको मिश्रित खोप प्रयोगमा छ प्रत्येक ४ बर्षको फरकमा ५ बर्ष मुनिका बालबालकाहरुमा दादुरा –रुबेला बिरुद्धको खोप अभियान मार्फत यो खोप दिईन्छ ।

५) हाल दादुरा रुबेला देखा परेको बाँके जिल्लामा दादुरा –रुबेला बिरुद्धको मिश्रित खोप ६ महिना देखि १४ बर्ष सम्मका सबै बालबालिकाहरुमा यो खोप प्रदान गरिदै आएको छ ।

६) केहि देशहरुमा यो खोप बच्चा जन्माउने उमेर समुह १५ बर्ष देखि ४९ बर्ष उमेर समुहका सबै महिलाहरुमा रुबेला बिरुद्धको खोप प्रदान गर्ने गरेको पाईन्छ । गर्भबति अवस्थामा यो खोप लगाईदैन र रुबेला खोप लगाएको ३ महिना पछि मात्र गर्भ राख्ने योजना बनाउनु पर्दछ ।

७) केहि देशहरुमा यो खोप १ देखि १४ बर्ष उमेर समुहमा नियमित खोप जस्तै गरि यो खोप प्रदान गर्ने गरेको पाईन्छ ।

नेपालमा दादुरा–रुबेला खोप सेवा कसरी प्रदान गर्दै आइरहेको छ ?

बालबालिकाहरुमा लाग्ने दादुरा रोग र गर्भबती अवस्थामा आमालाई संक्रमण गरि आमाबाट जन्मने बालबालिकामा जन्मजात बिकृतिहरुबाट बचाउनका लागी २ प्रकारको एन्टिजिन भएको यो खोपको प्रयोग गरिन्छ ।

नेपालमा सन १९८८ (बि.सं. २०४५/२०४६ बाट दादुरा खोप दिन सुरु गरिएको हो । सन् २०१३ बाट दादुरा संग संगै रुबेला समेत मिसाई २ रोग बिरुद्ध एउटै खोप दिन थालियो ।

सन् २०१५ अघि बच्चाको उमेर ९ महिना पुग्दा १ मात्रा मात्र दिईने दादुरा रुबेला खोप १ मात्राको प्रभाबकारिता वा सुरक्षा दर ८५ प्रतिशत मात्र भएका कारण सन् २०१५ देखि बच्चाको उमेर ९ महिना र १५ महिनामा १-१ मात्रा गरि २ मात्रा दादुराको खोप दिन थालियो ।

हामीले प्रयोग गर्ने दादुरा रुबेला खोप बिश्व स्वास्थ्य संगठन बाट प्रिक्वालिफाईड प्रमाणित भएको हुनाले यो खोप सुरक्षित र रोग रोकथामका लागी प्रभाबकारी छ ।

खोपको किसिम : जिवित तर कमजोर पारिएको भाइरस बाट तयार भएको Live attenuated virus) पाउडरको रुपमा उपलब्ध हुन्छ ।

दिनुपर्ने मात्राः– नियमित खोप सेवा मार्फत २ पटक, ०.५ मि.लि.

खोप लगाउन नहुने अवस्थाः– अघिल्लो पटक खोप लगाउदा गम्भिर असर देखा परेको भएमा, एड्सको लक्षण भएमा ।

प्रतिकूल असरः– ज्वरो, ५ देखि १२ दिन पछि बिमिरा देखिनु, मस्तिष्क ज्वरो वा स्नायु प्रणालीसँग सम्बन्धित गम्भिर असरहरु, एलर्जिबाट हुने कडा प्रतिक्रिया (जुन ज्यादै न्यून हुन्छ) आदि

यो खोप लगाएका करिव १० लाख बालबालिका मध्ये १ जनामा Anaphylaxis हुन सक्छ ।

सुई लगाउने स्थान र तरिका : बाँयाँ पाखुराको माथिल्लो छाला र मासुको बिच (Sub–cutaneous) भागमा ४५० कोणमा लगाउने ।

भण्डारणः– २० डिग्री देखि  ८० डिग्री सेल्सियसको बीचमा , यो तातोले बिग्रने खोप हो र सुर्यको प्रकाशले पनि यो खोपलाई काम नगर्ने बनाउँछ ।

यो सामान्यतया यो खोप २० डिग्री देखि ८० डिग्री सेल्सियसको बीचमा राखिन्छ, यो खोप ३७ डिग्री सेन्टीग्रेडमा रहयो भने १४ दिन, २५ डिग्री सेन्टीग्रेडमा रहयो भने ९० दिन ५ डिग्री सेन्टीग्रेडमा रहयो भने ३ बर्ष बढि सम्म काम गर्न सक्छ त्यसैले यो खोपलाई केन्द्रिय खोप भण्डार बाट खोप लगाउने खोप केन्द्र सम्म पुरयाउँदा सम्म २० डिग्री देखि ८० डिग्री सेल्सियसको तापक्रममा राख्नु पर्दछ र सुर्यको प्रत्यक्ष प्रकाश देखि जोगाउनु पर्दछ ।

खोप प्रयोगको समय अबधिः– घोलेको ६ घण्टा पश्चात् दादुरा–रुबेला खोप कदापि प्रयोग गर्नुहुँदैन । यो खोप खोलेको ६ घण्टा पछि वा खोप सेसन सकिएपछि (यी दुई मध्ये जुन अवस्था पहिले आउँछ) यो खोप प्रयोग गर्नु हुँदैन ।

कुनै कारणबश तालिका अनुसार दादुरा रुबेला खोप लिन छुट भएमा ?
१) यदि बच्चा ९ महिना उमेर भन्दा पछि आएका छन् भने

  • पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने
  • दोश्रो मात्रा १५ महिनामा दिने

२) यदि बच्चा १५ महिना भन्दा माथिको उमेरमा यो खोप लाउन आएका छन् तर पहिलो मात्रा लगाएका छैनन् भने ?

  • पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने,
  • दोश्रो मात्रा पहिलो मात्राको खोप लाएको ४ हप्तापछि दिने ।

३) नियमित खोपमा खोप छुट भएका २३ महिना सम्मको बालबालिकाहरु शुन्यखोप (कुनै पनि खोप नलाएको) भेटिएमा ?

  • १५ महिना मुनिको बालबालिका भेटिएमा पहिलो १ मात्रा पहिलो भेटमा दिने र बाकि दोस्रो मात्रा तालिका अनुसार १५ महिनामा दिने
  • १५ महिना माथिको बालबालिका भेटिएमा १-१ महिनाको फरकमा २ मात्रा दिने ।

४) यदि २४ महिनादेखि ५९ महिनासम्मको बालबालिकाहरु शुन्यखोप (कुनै खोप नलगाएको) भेटिएमा ? दादुरा-रुबेला :

१ महिनाको फरकमा २ मात्रा दिने

दादुरा–रुबेला खोपको प्रभावकारिता
दादुरा–रुबेला बिरुद्धको खोप लगाईसकेपछि यो खोपले शरिरमा दादुरा –रुबेला बिरुद्धको एन्टिबडि उत्पादन गर्न १४ दिन देखि १ महिना लाग्दछ वा यो खोप लगाएको १ महिना पछि मात्र खोपले दादुरा हुन बाट बचाउँछ ।

बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा १-१ मात्रा गरि २ मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो ।

नियमित खोप लगाउदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरुमा समेत ५ बर्षको उमेर भित्र जुन सुकै समयमा आएमा पनि १ महिनाको फरकमा २ मात्रा खोप दिई पुर्ण खोप सेवा प्रदान गरिन्छ ।

दादुराको खोप १ मात्राको प्रभाबकारिता ८५% र दोस्रो मात्रा समेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारीता दर ९५–९७ % हुने विभिन्न अनुसन्धानहरुले प्रमाणित गरेका छन ।

दादुरा, रुवेला र congenital रुवेला syndrome बाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ । यो Live attenuated virus (जिवित कमजोर भाइरस ) बाट बनाइएको हुन्छ । यो खोप ०.५ ml छाला र मासुको बीचमा (Subcutaneous)  दिइन्छ । कोभिड–१९ बिरुद्धको खोप लिएको १४ दिन भित्र र कोभिड–१९ खोप लिएको १४ दिन पछि सम्म दादुरा–रुबेला बिरुद्धको खोप दिइँदैन ।

नियमित खोपमा २३ महिना मुनिका बालबालिकाहरुमा दादुरा–रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी २ पटक दिनुपर्छ ।

दादुरा–रुबेला बिरुद्धको खोप दिन नहुने अवस्था 

पहिले दादुरा–रुबेला बिरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको Reaction भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्य कुनै शिकिस्त बिरामी परेको अवस्थामा र एडसका बिरामीमा यो खोप दिईदैन तथा एच.आई.भि. मात्र भएको अवस्थामा यो खोप दिन सकिन्छ ।

#श्रेष्ठ स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रम फोकल पर्सन हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *