के अस्पताल बन्द गरेर गरिने आन्दोलन आजको समाधान हो ?

136
Shares

केही वर्ष अघिको कुरा, नेपाल चिकित्सक संघले आन्दोलनको नाममा अस्पतालको सेवा बन्द गर्ने परिपाटी बढाउन थालेपछि राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन नै गरेर अस्पताल बन्दको बिरोध गरेको थियो । आज फेरी अस्पताल बन्दको आव्हान भएको छ ।

त्यसबेला बिरोधमा सामेल भएका हामीलाई यो बन्दको समर्थन गर्न नैतिक रुपमा मिल्दैन । त्यसैले हामी भनिरहेका छौँ, ‘आन्दोलन गरौँ बिरोध गरौँ तर स्वरुप परिवर्तन गरौँ ।’

किनभने, आज पनि बन्दको आव्हान गर्दा अनिवार्य रुपमा बन्द हुने भनेको सरकारी अस्पताल वा स्वास्थ्य संस्था मात्रै हुन् । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमा यसको प्रभाव अत्यन्त नगन्य पर्दछ । जव सरकारी अस्पतालहरुमा सेवा बन्द हुन्छ, मारमा पर्ने निश्चित समुदाय र वर्ग मात्र हुन्। यसले उपचारका लागि आएका आम नागरिक र चिकित्सकबीचको दुरी थप बढाउँछ ।  भविस्यमा काम गर्न झन् गाह्रो हुन्छ ।

सधै यस्तै तालका आन्दोलन र बिरोधमा उत्रिने हो भने आम नागरिकको नजरमा चिकित्सक प्रति हेर्ने दृष्टिकोण समेत बदलिन सक्छ । त्यसैले बिग्रिएको वा बिग्रँदै गएको बातावरणलाई मिलाउने काममा हामी चिकित्सक पनि लाग्नु पर्छ ।

पछिल्ला केही घटनाहरुले देशमा अतिवाद र धार्मिक कट्टरवादको वृजारोपण हुन थालेको आभाष भएको छ । यतिवेला सद्भाव र समाजिक एकताको लागि पहल गर्न पर्ने हामी चिकित्सकहरु प्रशासन र सरकारसँग जुध्नु पर्ने वाध्यात्मक परिस्थितिमा छौँ ।
तर मलाई के लाग्छ भने कतिपय अवस्थामा हामीले आफूलाई पनि सुधार्नुपर्छ ।

हो, हामी पेशाकर्मीले पहिले आफू सुरक्षित भएर आफ्नो कार्यस्थलमा काम गर्न पाउनुपर्छ । यो पेशाकर्मीको अधिकार हो। राज्यले सुरक्षाको प्रत्याभुति दिन पर्छ। तर हामीले आफ्नो अधिकार माग्दै गर्दा आफ्नो कर्तव्य पनि बिर्सिन हुँदैन ।

बुझ्न के परयो भने, नेपालमा शहर मात्र छैनन् । दुरदराज छन् । जहाँबाट अस्पतालको ओपीडीमा सेवा लिनकै लागि धेरै दुख गर्नुपर्छ । ति निमुखा सर्वहारा भुइमान्छेको के दोष ? तिनलाई न राज्यले चिन्छ न हामी चिकित्सक ले नै ।

त्यसैले म फेरी पनि भन्छु राज्य संवेदनशील होस पेशाकर्मीको कार्यस्थलमा सुरक्षित हुन पाउने अधिकार संरक्षण गरोस । तर बिरोधको शैलीलाई बन्दबाट बाहिर निकालौँ । किनभने मैले फेरी पनि भने विरोध वन्द अनि हड्तालले नागरिक र पेशाकर्मीको सम्बन्धमा दरार आउँछ।

इजराइल पेलिस्टाइनको युद्धमा बम खसिरहेको गाजा क्षेत्र होस् या आकाशमा मिशाइल उडिरहेको इजरायल होस चिकित्सक निर्वाद रुपले आफ्नो पेशामा समर्पित छन् । त्यसैले त्यहाँ चिकित्सक प्रतिको सम्मान अरू पेशाकर्मी भन्दा माथि छ।

हामी भगवान होइनौ भन्दै गर्दा हामीलाई अरू भन्दा फरक ढंगले हेरिनुपर्छ भन्ने मानसिकता पनि त्यागौँ ।

दुई पक्षीय विवादमा कम्मर भन्दा माथि गोली दाग्ने सुरक्षाकर्मीले भोलिका दिनमा हाम्रो विरूद्ध पनि यस्तै व्यवहार गर्न सक्छन् । प्रशासनले सुरक्षा नदिइ कसरी हामी सुरक्षित हुन्छौ ? सरकार गम्भीर बनोस, हिजोका सरकारलाई सत्ताच्युत बनाउन एप्रोन लाएर संसद भवन जल्दा पुगेका चिकित्सक नेताहरुको जिम्मेवारी हो यो देशमा चिकित्सकलाई आफ्नो कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउने ।

यतिवेला सत्ताका नजिक रहेका चिकित्सक साथीहरुलाई म भन्न चाहन्छु, यदि सक्नु हुन्न भने छाडनुस राजनीति आउनुस आफ्नो पेशामा फिर्ता । बिन्ती छ, फुटेज खान समय र परिस्थितिअनुसार आफ्नो वोली नफेर्नुस।

अन्तिममा,  सुरक्षित पेशा सुखी चिकित्सक हाम्रो हिजोको नारा मात्र नभई आज र भोलिको लागि पनि संकल्प हो। यसमा हामी दृढ छौँ ।

आम नागरिकलाई पनि मेरो अपिल,  नेपाली चिकित्सक पनि नेपाली जनताका छोरा छोरी हुन् यसर्थ तपाईँको माया र भरोसाले मात्र चिकित्सकलाई आफ्नो कार्यस्थलमा सुरक्षित भएर काम गर्ने वातावरण बनाउँछ । त्यसैले आफ्ना छोराछोरी दाजुभाई दिदीबहिनी सम्झेर पेशाकर्मीहरुलाई माया स्नेह दिनु होला । तपाईँ हाम्रो सम्वन्धमा दरार होइन मजबुत बनाऔँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *