कसरी बन्छ मिर्गौलामा पत्थरी ? यसको स्वास्थ्यमा असर के ? उपचार कसरी गर्ने ?

म काम गर्ने त्रिवि शिक्षण अस्पतालमा युरोलोजी र मिर्गौला प्रत्यारोपण सर्जरी दुई अलग सेवा भए पनि हामीले एकै ठाँउबाट सेवा दिईरहेका छौँ । यसो गर्नुको दुई कारण छन् । एउटा मिर्गौला फेल भएको मान्छेलाई उपचार गर्ने र अर्को मिर्गौला फेल हुनुबाट नै बचाउने ।
मिर्गौला फेल भएका बिरामीलाई उपचार गर्ने एउटा पाटो भयो । त्यसका लागि सुरुमा डायलासिस सेवा दिन सक्छौँ र दीर्घकालिन रुपमा मिर्गौला प्रत्यारोपणमा जान्छौँ ।
दोस्रो कुरा हामीले मिर्गौला फेल हुनबाट नै जोगाउने प्रयास संगसंगै अघि बढाईरहेका छौँ । मिर्गौला फेल हुने कारणमा मुख्य रुपमा उच्च रक्तचाप, मधुमेह, ग्लोमेरुलोनेफ्राइटिस, त्यसपछि कन्जेनाइटल (जन्मजात मिर्गौलाको समस्या) कारण जस्तै पिसाव रोकिने, मिर्गौलाको बनावटमा समस्या लगायत छन् । यसपछि मिर्गौला फेल हुने कारण पत्थरी नै हो ।
जनमानसमा पत्थरीले पार्ने असरबारे जानकारी नभएर वा यसको सहि उपचार बेलैमा नगरेर यो अवस्था आएको हो भन्ने मेरो अनुमान छ । युरोलोजी विभागले यो काम गर्दै आएको छ ।
मिर्गौलामा पत्थरी कसरी बन्छ ?
हामीहरुले जति खाना खान्छौँ, शरीरमा मेटावोलिजम हुन्छ । त्यसबाट ‘बाई प्रडक्ट्र’हरु निस्कन्छन् । मिर्गौलाले प्रोटिन मेटाबोलिजमबाट आउने युरिया र युरिक एसिड, क्रियाटिनिन, नून, शरीरमा बढी रहेका क्याल्सियम, खनिज तथा लबणहरु छान्ने काम गर्दछ । त्यस क्रममा शरीरका लागि अनावश्यक अर्थात गलत विकारको रुपमा आएका पदार्थहरुलाई मिर्गौलाबाट पिसावको रुपमा बाहिरिन्छ ।
तर कहिलेकाही शरीरमा पानीको मात्रा नमिलेर, नुनको मात्रा वा लवण धेरै भएर त्यसले ‘क्रिस्टलाइजेसन’ हुन्छ । त्यसले पत्थरको रुप लिन्छ । त्यहि सा सना क्रिस्टलहरु जोडिएर त्यो पत्थरीको रुपमा देखा पर्ने हो ।
अर्को कुरा इन अग्र्यानिक भनेर हामीले क्याल्सिय अक्जालेट, युरिक एसिड जस्ता लबणहरु जो विकारको रुपमा बाहिर जानु पर्ने हो, त्यो नगएर मिर्गौलामै थुप्रिएर त्यसैबाट पत्थरीको रुप लिन्छ । साधारणतया पत्थरी बन्ने भनेकै क्याल्सियम अक्जालेटबाट हो ।
यस्तै इन्फेक्सनहरुले पनि मिर्गौलामा पत्थरी बन्न सहयोग पुरयाउँदछ । कुनै कारणले मुत्र नलिमा इन्फेक्सन भएर पिसावहरु राम्ररी बगेन भने पनि पत्थरी हुने सम्भावना हुन्छ ।
जस्तै खोला राम्ररी बगेको ठाँउमा लेउ लाग्दैन र फोहर हुँदैन । तर खोला राम्ररी बग्ने अवस्था छैन भने लेउ लाग्न सक्छ । फोहर जम्छ । यस्तै गरी पिसाव बग्ने बाटोमा पनि अवरोध भयो चाहे त्यो जन्मजात कारणले होस वा अरु कारणले होस, अवरोध आयो भने पनि त्यहाँ पिसाव जम्मा हुन्छ । त्यसपछि त्यहाँ क्याल्सियम र अरु लबणहरु थेग्रिएर पत्थरी देखा पर्न सक्छ ।
धेरै जसो मान्छेलाई के कारणले पत्थरी भयो भन्ने पत्ता लाग्दैन । यो नै कारण हो भनेर सबै जाँच गरे पनि पत्ता लाग्दैन ।
के खायो भने पत्थरी हुन्छ ?
पत्थरीको बारेमा धेरैलाई भ्रम छ । कसैले यसलाई खानासंग जोडेर हेर्छन । कसैले दुध पिउदा पत्थरी हुन्छ भन्दा रहेछन् । कसैले तरकारीमा मसला धेरै राखेर खाने गर्नाले मिर्गौलामा पत्थरी भएको भन्दा रहेछन् । कसैले ढुंगा भएको खानेकुरा बढी खाँदा पत्थरी भयो भन्दा रहेछन् । कसैले केही नखाँदा पनि पत्थरी भयो भन्छन् । तर म भन्दछु पत्थरी हुनुमा धेरै जसो कुराहरु खानासंग सिधै सम्वन्धित छैनन् ।
पहिलो कुरा हामीले के बुझ्न जरुरी छ भने कहिलेकाही जीउमै यस्ता किसिमको मेटावोलिजम हुन्छ । जन्मजात रोग हुन्छ जसले पत्थरी बनाउने चिज बढी निकाल्छ । जस्तै युरिक एसिड भएको मानिसले बढी युरिक एसिड फाल्छ र युरिक एसिड बढी हुने वित्तिकै त्यसले क्रिस्टलाईजेसन हुन्छ र पत्थरीको सम्भावना बढी हुन्छ ।
पानी कम र लवणको मात्रा बढी भयो भने वा पानी कम भएर वा जीउले नै बढी लवण बनाएर त्यो क्रिस्टालाइजेसन हुन्छ र पत्थरी हुन्छ । युरिक एसिड भएको व्यक्तिले बढी प्रोटिनयुक्त खानेकुरा खायो भने पनि पत्थरी हुनसक्छ ।
तर शरीरमा जति बढी पानी भयो त्यो लवण घुलेर पिसावको रुपबाट बाहिर जान्छ । क्रिस्टलाइजेसन हुन पाउँदैन र पत्थरी बन्ने सम्भावना हटेर जान्छ ।
पत्थरी भएको संकेतहरु कसरी थाहा पाउने ?
पत्थरी बनि सकेपछि दुई चारवटा लक्षण देखाउन थाल्छ । कसैलाई सुरु देखि नै संकेत मिल्छ भने कसैलाई ठूलो भएर समस्या देखिन थालेपछि मात्रै थाहा पाउन सकिन्छ । यद्धपी नियमित स्वास्थ्य परीक्षण गर्ने व्यक्तिले पत्थरी छ छैन भनेर पेटको भिडियो एक्सरे गरेर हेर्न सकिने भएकोले त्यसबेला नै पनि थाहा पाउन सकिन्छ ।
यद्धपी केही साझा संकेतहरु यस्ता छन् :
- यदि तपाईँको ढाडमा दुख्यो भने ।
- पिसाव गर्दा दुख्यो भने ।
- पिसाव गर्दा रगत देखा परयो भने ।
- पिसाव पोल्यो भने ।
- कहिले काही स साना ढुंगा जस्ता टुक्रा झरयो भने ।
- कहिलेकाँही पिसाव फेर्न गाह्रो हुने वा रोकिने पनि हुनसक्छ ।
- कहिलेकाही मिर्गौला सुन्निएर फुलेर अरु नै समस्या लिएर समेत आउने गर्दछन् ।
सबै पत्थरी निकाल्न पर्छ ?
मिर्गौलामा बनेका सबै पत्थरी तत्काल निकाल्न पर्छ भन्ने पनि छैन् । कुन चाहि बढी खतरा हो र तत्काल उपचारमा जानु पर्छ वा पर्दैन विज्ञ चिकित्सकहरुले निर्णय लिने कुरो हो ।
कति पत्थरीहरु मिर्गौलामा आरामले बसेको हुन्छ । साना पत्थरीहरु तिनीहरुलाई निकाल्न पर्छ भन्ने जरुरी हुँदैन । सबै मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्नु पर्छ भन्ने पनि छैन ।
किनभने मिर्गौला भित्र भएका पत्थरीहरु निकाल्नु पनि एक खालको चुनौतीपूर्ण काम हो । युरोसर्जरीको विशेष तालिम प्राप्त चिकित्सकले मात्रै त्यो सेवा दिन सक्छ । त्यसैले पत्थरी निकाल्नु अघि एक पटक युरोसर्जनसंग गएर परामर्स लिनुपर्छ ।
यदि ढुंगा सानो छ । मिर्गौला भित्र बसेको छ । त्यसले पिसाव निस्कनलाई कुनै असर गरेको छैन् । दुखेको पनि छैन । मिर्गौलालाई पनि खतरा छैन भने त्यस्ता पत्थरीलाई हामी चलाउँदेनौ । त्यस्ता खाले पत्थरीको शल्यक्रिया नै खतरा हुन सक्छ ।
कहिले काँही सानो पत्थरी हो भनेर फोडदा झनै खतरा पनि हुने गरेको छ । तर के पनि हो भने कुनै कुनै पत्थरी सानो छ भनेर त्यत्तिकै छाडेर बस्नु पनि हुँदैन । पत्थरी भएको व्यक्तिले छ महिना वा बढीमा एक वर्षमा भिडियो एक्सरे गरेर हेरि राख्नु बुद्धिमानी मानिन्छ ।
पत्थरीले असर कति खेर गर्दछ ?
हामीले बुझ्नुपर्ने कुरा मिर्गौला हुन्छ, त्यसबाट पिसाव बहने नलि (युरेटर) हुन्छ । त्यो नली एकदम साँगुरो हुँन्छ । मिर्गौलाबाट पिसाव बहने मुख्य बाटो नै त्यहि हो । यदि त्यो बाटोमा अवरोध आयो भने हामीलाई निकै अफ्टेरो पर्छ ।
त्यसकारण थैलो सम्म ल्याउने नली आएर बसेको पत्थरीलाई थैलो सम्म ल्याउनका लागि हामीले एकदमै सतर्क हुनुपर्छ । किनभने त्यहाँ लामो समयसम्म ढुंगा बस्यो भने पिसाव बग्नलाई अवरोध गरेमा त्यसले मिर्गौलाको नियमित काममा असर गर्दछ ।
भगवानले हामीलाई धन्न दुईवटा मिर्गौला दिएका छन र हामी धेरै अर्थमा त्यस्तो अवस्थामा अर्को मिर्गौलाले काम गरेको कारणले त्यस्तो समस्या नहुँन सक्छ । धेरै जसोले मिर्गौलामा पत्थरी भएको कुरा त्यहि नलिमा आएर अडकिएपछि मात्रै महसुस गर्ने गरेको पाईन्छ । किनकी त्यसबेला निकै नै दुखाई हुन्छ । त्यसैले पिसाव नलीमा बसेको पत्थरीलाई एकदमै गम्भीरतापूर्वक हेर्नु पर्दछ र डाक्टरको परामर्सलाई समेत गम्भीरता पूर्वक लिनु पर्छ ।
मैले के अनुभव गरेको छु भने सानो ढुंगा त हो नि यो आफै जान्छ भनेर छाडेका धेरैले छ महिना एक वर्ष पछि आउँदा मिर्गौला नै फेल भएको अवस्था छ । त्यसैले डाक्टरले बोलाएको बेलामा आएर मिर्गौलाको परीक्षण गर्नु पर्दछ ।
पत्थरीको उपचार कत्तिको जटिल हुन्छ ?
चिकित्सकीय पेशालाई यो साधारण र यो जटिल भनेर सुरुमै भन्ने अवस्था पनि हुँदैन् । तर आधुनिक चिकित्सा क्षेत्रमा विकसित भएका आधुनिक प्रविधिको सहयोगमा अचेल यो उपचार सजिलोसंग हुने भएको छ ।
पहिले पहिले पत्थरी झिक्न पेट चिरेर शल्यक्रिया गर्नु पर्दथ्यो । अहिले त्यसरी पुरै चिर्नुपर्ने आवश्यकता लगभग छैन् ।
आज पत्थरी झिकेर भोली घर जान सक्ने अवस्था छ । प्वाल पारेर गरिने ल्याप्रोस्कोपिक शल्यक्रिया देखि लेजर टेक्नोलोेजीहरु बाट गरिने उपचार सेवा छन । पिसाव नलि भित्रै गएर त्यसलाई धुलो बनाई दिने प्रविधिहरु भित्रिइसकेका छन् । त्यसैले उपचारमा पनि धेरै खतरा छैन भन्न सकिन्छ ।
तर मिर्गौलाको गलत ठाँउमा पत्थरी भयो वा नलिमा पत्थरी भयो भने त्यसैले मिर्गौला नै फेल बनाईदिने खतरा हुन्छ । त्यसैले पत्थरीको बारेमा नियमित चासो र जानकारी लिनु जरुरी छ ।
शारीरिक स्वास्थ्यमा समस्या आएमा त जाँच गराउनु नै परयो । समस्या नआएमा पनि तीस चालिस बर्षपछि बार्षिक रुपमा भएपनि शरीरको जाँच गराउनु राम्रो हुन्छ । अल्ट्रासाउण्ड, पिसाव तथा रगतको सामान्य जाँच गर्नु राम्रो मानिन्छ ।
किनभने आजभोली खानपीन र रहन सहनले पनि मानिसहरुमा स्वास्थ्य समस्या बढाउँदै गएको छ । बढी नुन खाने, जंक फुडहरु खाने यो कारणले पनि रोगहरु बृद्धि भएको छ र त्यो संगसंगै पत्थरी पनि जोडिएर आउँछ ।
हाम्रो जस्तो देशमा स्वास्थ्य सुविधा सबैको पहुँचमा छैन् । अर्को कुरा हाम्रो देश स्टोन बेल्ट नै मानिन्छ ।
– स्वस्थ मानिसले दैनिक कति पानी पिउँने ?
हाम्रो तराई भेगमा गर्मी बढी हुन्छ । घाममा काम गर्ने व्यक्तिहरुले प्रयाप्त मात्रामा पानी पिउन सकेका हुँदैनन् । त्यसले पनि पत्थरीको जोखिम बढी हुन्छ । त्यसैले हामीले पर्याप्त मात्रामा पानी खानु जरुरी हुन्छ ।
मिर्गौलाको पत्थरी एक पटक निकाली सकेपछि पनि पुन: देखा पर्न सक्छ ?
हाम्रो जीवन र मेटाबोलिजम उस्तै हो । जस्तै एउटा मान्छे धेरै रिसाउँछ भने त्यो एक पटक रिसाएर हुँदैन त्यो भोलि वा पर्सी पनि रिसाउन सक्छ । यस्तै मैले आज मिर्गौलाको पत्थरी निकाले पनि मैले मिर्गौला नै निकालेको त होइन नि । हाम्रो शरीर, खानपान र आनीबानी त उही नै हो । मेटावोलिजम त उहि नै हो नि ।
पित्तथैलीमा पत्थरी भयो भने पित्त थैली नै फालिदिन्छौँ । त्यसैले त्यहाँ फेरि बन्ने मौका नै भएन तर मिर्गौला निकालेर फाल्न त मिलेन । भनेपछि म संग भएका मेटाबोलिजम र शरीरमा भएका केही डिफेक्टहरु छ भने वा तपाईँको व्यवहार समान रहयो भने । तपाईँले फेरी पानी खान छाड्नु भयो भने पत्थरी त रहन्छ नै । त्यसैले हाम्रो भाषामा किडनी स्टोनको रिकरेन्स रुल भन्छौँ ।
अध्ययनहरुले के देखाएको छ भने पत्थरी झिकेको चार पाँच बर्षमा ५० प्रतिशत मानिसमा पुन: पत्थरी देखा पर्दछ । १० बर्षमा त ८० प्रतिशतमा पुन: पत्थरी देखा पर्दछ ।
कसै कसैको दुई दुई महिनामै पनि स्टोन देखा पर्न सक्छ । यस्ता मान्छेहरुको मेटाबोलिजमको अध्ययन गर्नु पर्छ । प्याराथाइराइड हर्मोन धेरै भएको व्यक्तिमा पत्थरी एकदम छिटो छिटो देखिने सम्भावना बढी हुन्छ । युरिक एसिड भएको व्यक्तिहरुमा पनि त्यस्तै हुन्छ । त्यसैले एक पटक पत्थरी भएको छ भने पुन पत्थरी हुने सम्भावना हुन्छ ।
पत्थरी हुन नदिनका लागि के खाने नखाने भन्ने पनि हुन्छ ?
यस बारेमा मैले माथि नै पनि उल्लेख गरेको छु । कोही कोही हाम्रै चिकित्सकहरुले पनि मिर्गौलाको पत्थरी हुन नदिनका लागि के खान हुने के नहुने जस्ता कुराहरु लेखेको देखिन्छ । त्यो सत प्रतिशत गलत हो ।
जस्तो कतिपयले दुध खायो भने पत्थरी हुन्छ भनने सुनेको छु । तर हामीले पत्थरी हुने मानिसलाई हामीले कहिलेकाही क्याल्सियम ट्यावलेट दिन्छौँ । दुध खानु त झनै फाइदा जनक हो । हामीले खाना पछि दुख खाने चलन त झनै राम्रो हो । यसले अक्ज्यालेट स्टोन बन्ने सम्भावनालाई कम गर्दछ ।
नेपालमा पत्थरी महिलामा भन्दा पुरुषमा केही बढी देखिन्छ । महिलाको तुलनामा पुरुषहरु केही बाहिरी काममा बढी व्यस्त हुने भएकाले यस्तो पाइएको हो कि भन्ने अनुमान छ । पानी कम खाने र बाहिर बढी कडा काम गर्ने भएकोले यस्तो हुन सक्छ ।
हामीले ‘सल्युट ट्रेट’ भन्छौँ । जस्तो चिनीको मात्रा, नुनको मात्रा, बढी भयो क्रिस्टललाईजेसन हुने सम्भावना बढछ । त्यसैले तपाईले के बुझुनु परयो भने गुलियो पेय पदार्थहरुबाट पनि तपाई टाढै बस्नु पर्छ । पानीको विकल्प जुस तथा गुलियो पदार्थ होइन । यसले झनै पत्थरी लगायतका अन्य नसर्ने रोगहरुको जोखिम बढाउँछ । मध्यपूर्वका खाडी देशमा गएका दाजुभाईहरुले यस्तै पेय पदार्थको बढी सेवन गर्दा समस्या बढी देखिएको हो ।
पत्थरीको उपचार कतिको सहज छ ?
पत्थरीको समयमै उपचार गर्दा मिर्गौला फेल हुने सम्भावना रोकिन्छ । अरु कन्जेनाइटल रोगहरु छ भने त्यसको पनि चाडै नै समाधान खोज्दछौँ । साथै मिर्गौला फेल भएको अवस्था आयोे भने प्रत्यारोपण पनि गर्दछौँ । नेपालमा १० बर्ष अघिसम्म सबै चिरेर उपचार गर्दथ्यौँ । अहिले प्रविधिजन्य स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उपलव्धताको कारणले सहज बन्दै गएको छ । त्रिवि शिक्षण अस्पतालकै रिपोर्ट हेर्ने हो भने पछिल्लो पाँच बर्षमा मैले एउटा पनि केश चिर्नु परेको छैन ।
हामी मिर्गौलाको पत्थरीको शल्यक्रियाका लागि वेल इक्वीपट छौँ । बेलायत अमेरिका सिंगापुरमा जो प्रविधि प्रयोग भएको छ हामीकहाँ पनि त्यहि नै प्रविधि प्रयोग भएको छ । र हामी त्यसका लािग एक्सपर्ट पनि छौँ । कहिलेकाँही सिमित जनशक्तिले धेरै विरामीलाई एकै पटक उपचार गर्न नसकिने भएकोले केही समय कुर्न पर्न सक्छ । युरोलोजोजीको एमसीएच यहि अध्ययन हुन्छ । यहाँ तालिम गरेर विराटनगर, भैरहवा, पोखरा, नेपालगंज लगायतका ठाँएमा सेवा दिएका छन् । आजको दिनमा सबै ठाँउका मानिसहरु पत्थरीको सहज उपचारका लागि काठमाडौँमा नै धाउनु पर्छ भन्ने पनि छैन् । सुविधाहरु विभिन्न प्रदेशहरुमा हस्तान्तरण हुँदै गएको छ ।
मिर्गौलाको पत्थरी पानी खाएर उफ्रदाँ आफै पनि निस्कन्छ भनिन्छ नि ?
प्राय जसो पिसाव नलिमा ५ देखि ६ एमएमको पत्थरी पास हुने क्षमता हुन्छ । मिर्गौलामा कोठै कोठा हुन्छ । तल्लो कोठामा छ र ६ एमएम सम्मको छ तर दुखाएको छैन, पिसाव रोकिएको पनि छैन भने त्यसलाई चलाईरहन आवश्यक छैन । किनभने त्यो सानो ढुंगालाई उपचार गर्न जाँदा अरु समस्या बल्झन सक्छ । खतरा भनेको पत्थरी पिसाव नलिामा आएर बस्छ कि भन्ने हो । यसमा ५ देखि ६ एमएमको ढुंगाहरु जानसक्छ भन्ने हाम्रो गाइडलाइनमै छ ।
त्यो भन्दा ठूलो पत्थरी छ भने त्यो पिसाव नलिबाट पास हुँदैन र त्यसले किड्नीलाई विस्तारै ड्यामेज गराउन सक्छ । त्यस्तो ढुंगालाइ हामीले विस्तारै लेजरले धुलो बनाईदिन्छ र पिसावबाट बगेर जान्छ भनेर विश्वास गर्दछौँ ।
कहिले काही त्यो नलिमा पत्थरी फोडिसकेपछि पाइप जस्तो राख्दछौँ जसलाई डिजे स्टेन्ट भन्दछौँ त्यसलाई मिर्गौलालाई आराम दिन वा ढुंगा बग्नलाई सहयोग गर्नका लागि हाल्छौँ । प्रोसेस हुन्छ ।
त्यसैले पत्थरीको उपचार कस्तो साइजको छ र कहाँ बसेको छ भनेर पहिले हेर्नुपर्ने हुन्छ । दुख नदिने ठाँउमा बसेको छ र धेरै सानो छ भने शल्यक्रिया गरिरहनुपर्ने आवश्यकता छैन । त्यसैले विज्ञ डाक्टरसंग यसको परामर्श लिनु आवश्यक हुन्छ ।
# युरोलोजिष्ट डा. चालिसे त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का सहप्राध्यापक हुन् भने त्रिवि शिक्षण अस्पताल युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका विभागीय प्रमुख हुन् ।)
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।










Kidney stone 2082/01/03=6.2
Kidney stone 2083/01/04=6.7 nali
Kidney stone 2083/01/15=not stone
2083/02/04=7.2
2083/02/19=5.4×4.8 (CT)
2083/02/27=8.3×4.9 (CT)
2083/03/06=10.3 USG.