विश्वकै महान ‘फुटबलर’ पेलेको ८२ वर्षको उमेरमा निधन

एजेन्सी । विश्वकै महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ। क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको मृत्यु भएको जानकारी दिएको छ।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो। पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए।

उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका थिए।

सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताएका उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन्। २१ वर्षको करियरमा उनले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गरेका थिए।

यसैबीच पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *