छ वटा प्रतिष्ठानको लेखाजोखा : सबैभन्दा बढी बिरामीलाई सेवा दिने बीपी

देशमा अहिले छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु सञ्चालनमा छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।

काठमाडौँ, २२ मंसिर । छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये सबैभन्दा बढी विरामीको उपचार गर्ने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कहलिएको छ । सो प्रतिष्ठान अन्य पाँच प्रतिष्ठानले भन्दा बढी ओपिडी, इमरजेन्सी र आइपीडी सेवा बढी दिएको छ ।

गत साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना भएको राष्ट्रिय संयुक्त बार्षिक समीक्षा बैठकमा छ वटै आर्थिक वर्ष २०७८/७९ प्रगति विवरण पेश गरिएको थियो । त्यसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो नम्बरमा देखिएको छ ।

प्रतिष्ठान तर्फको प्रस्तुति गर्ने डा रमेश कंडेलका अनुसार वीपीमा आर्थिक बर्ष २०७८/७९ मा ४ लाख ८१ हजार ५१४ जनाले ओपिडी सेवा लिएका छन् । यस्तै आकस्मिक कक्षमा सेवा लिनेको संख्या पनि ६९ हजार ६८१ रहेको छ । सोही वर्ष भर्ना भएर उपचार सेवा लिनेको संख्या ४२ हजार ९४८ रहेको छ ।

बीपी पछि दोस्रो बढी बिरामीको उपचार गर्ने प्रतिष्ठान न्याम्स बनेको छ । न्याम्समा गत आर्थिक बर्षमा ३ लाख ७९ हजार ८५३ जनाले ओपीडी सेवा लिएका छन् । आकस्मिक सेवा लिनेको संख्या ३७ हजार ४९४ रहेको छ । यस्तै १५ हजार ६२३ जनाको भर्ना गरेर उपचार गरिएको छ ।

यस्तै तेस्रो बढी बिरामीको उपचार गर्ने पाटन सवस्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । पाटनमा पछिल्लो एक वर्षमा ३ लाख १७ हजार ०१४ जनाले ओपीडी सेवा लिएको विवरणमा उल्लेख छ । तर इमरजेन्सी र आइपीडी सेवा लिनेको संख्या वीरमा भन्दा पाटनमा बढी देखिएको छ । पाटनमा पछिल्लो एक वर्षमा ४१ हजार ३३८ जनाको इमरजेन्सीमा उपचार गरिएको थियो ।यस्तै २० हजार ५४८ जनाले आइपीडी सेवा लिएका छन् ।

पाटन पछि बढी उपचार हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । पोखरामा सोही अवधीमा २ लाख ७२ हजार ३५९ जनाले ओपीडी सेवा लिएका छन् । यस्तै ४० हजार ७३९ जनाले इमरजेन्सी र २० हजार ४६६ जनाले आईपीडी सेवा लिएका छन् ।

अहिलेसम्मको कान्छो प्रतिष्ठान मानिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो एक वर्षमा ८६ हजार ९३६ जनालाई ओपीडी सेवा प्रदान गरेको छ । यस्तै १५ हजार ९७६ जना इमरजेन्सीमा र ६ हजार ७०४ जना आइपीडी सेवा लिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो एक वर्षमा ६८ हजार ४२७ जनाले ओपिडी सेवा लिएका छन् । सो प्रतिष्ठानमा आकस्मिक सेवा लिनेको संख्या ८ हजार १८९ रहेको छ । ६ हजार १५२ जनाले भने आईपीडी सेवा लिएका छन् ।

बेड अकुपेन्सी दर बढी राप्तीमा बढी कर्णालीमा कम
छ वटा प्रतिष्ठान मध्ये बेड अकुपेन्सी दरमा सबैभन्दा बढी ६९ प्रतिशत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पाईएको छ । दोस्रोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देखिएको छ । सो प्रतिष्ठानमा ६८ प्रतिशत अकुपेन्सी दर रहेको छ । यस्तै तेस्रोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ६२.८ प्रतिशत रहेको छ ।

चौथोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६० प्रतिशत, पाँचौमा न्याम्स ४८.२ प्रतिशत र छैटौँमा ४५.३ प्रतिशत कर्णाली रहेको छ ।
औषत बसाई दर भने बीपीमा ५.३ दिन, न्याम्समा ६.९ दिन, पाटनमा ६ दिन, पोखरामा ३.९५ दिन, राप्तीमा ५ दिन र कर्णालीमा ५.१२ दिन रहेको छ ।

अस्पतालमा हुने मृत्युदर
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्युदर २.४ प्रतिशत रहेको छ । यस्तै राप्तीमा २ प्रतिशत, पोखरामा २.४ प्रतिशत रहेको छ । यस्तै पाटनमा २ प्रतिशत , वीपी कोइराला धरानमा १.३ प्रतिशत र न्याम्समा सबैभन्दा बढी २.७ प्रतिशत रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *