नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

नयाँ दिल्ली, २० कात्तिक । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा परेका छन् ।

वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोवास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको हो ।

वायुको गुणस्तर सूचकाङ्कले गम्भीर तह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ ।

नयाँ दिल्ली र वरपरका क्षेत्रमा बसोवास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेका छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवं उपचार खोजेका छन् ।

नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सहभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । ८० प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् ।

यसैबिच प्रदुषणको स्तर निकै बढेपछि भारतको दिल्लीमा प्राथमिक विद्यालय पनि बन्द गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका थिए।

मुख्यमन्त्री केजरीवालले पञ्जाब र दिल्लीमा बढेको प्रदुषणबारे बोल्दै प्रदुषित हावा एउटा राज्यमा मात्रै नभई हरेक राज्यमा जाने बताए । उनले भने,  ‘प्रदुषण दिल्लीको मात्रै समस्या होइन, हरियाणा, युपी र पूरा उत्तर भारतको हावाको स्थिति खराब छ । यो एक–अर्कालाई आरोप लगाउने बेला होइन । केन्द्रले अघि सरेर कदम उठाउनुपर्नेछ । यसो गरेर उत्तर भारतलाई बचाउन सकिनेछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *