‘स्मोक फ्री सिटी’ बन्ने योजनामा ललितपुर महानगर, विद्यालय तथा अस्पताल वरपर सुर्ती निषेधित क्षेत्रको रेखाङ्कन गर्दै

काठमाडौँ, ६ भदौ ।  ललितपुर महानगर ’स्मोक फ्री सिटी बन्ने योजनाका साथ अघि बढेको छ । सो योजना अन्तरगर्त महानगरले अहिले चार ठाउँको सार्वजनिक स्थललाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

यस्तै महानगरले आफ्नो क्षेत्र भित्रका स्कुल, कलेज, अस्पताल, बृद्धाश्रम, लगायत सार्वजनिक संस्था रहेका स्थानको १०० मिटर वरपर पनि धूमपान बिक्री वितरण तथा सेवन गर्न समेत रोक लगाएको छ ।

सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा महानगर यतिमा मात्रै रोखिएको छैन् । उसले अब महानगर भित्र कुनै पनि ठाँउमा रहेका पसलहरुमा कुनै पनि सुर्तीजन्य पदार्थ सजाएर वा मानिसले देखिने गरी राख्न पाईने छैन् । पसलको बाहिर चुरोटका खिल्लीको मूल्य तोकिएका स्टिकर वा कुनै पनि विज्ञापन राख्न पाईने छैन् ।

यसको नेतृत्व गरेका छन् महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले ।

‘हामीले सुर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न र ललितपुर महानगरलाई स्मोक फ्रि सिटीको रुपमा अघि बढाउनका लागि मुख्य त तीनवटा कामहरु गरेका छौँ । पहिलो काम नगर भित्रका मुख्य मुख्य स्थानको छनौट गरी त्यहाँ सुर्तीजन्य पदार्थको विक्री बितरण तथा सेवनलाई निषेध गरियो । दोस्रो काम सुर्तीजन्य पदार्थ कुनै पनि पसलमा सजाएर राख्न नपाईने निर्णय गरियो । तेस्रो काम स्कुल कलेज अस्पताल बृद्धाश्रम लगायतका स्थानको वरपर १०० मिटरसम्म धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री बितरण गर्न पाइने छैन भनेर लक्ष्मण रेखा कोरिदै छ,’ आफूले गरेका कामबारेमा उनले जानकारी दिए ।

हाछेथुका अनुसार अहिले पाटन दरबार स्क्वाएर, ललितपुर महानगरपालिकाको कार्यालय रहेको पुल्चोक क्षेत्र, लगनखेल र जावलाखेलमा सुर्तीजन्य पदार्थको विक्री वितरण प्रयोगलाई पूर्ण निषेध छ । ती ठाँउमा सुर्तीजन्य पदार्थ विक्री वितरण तथा प्रयोग गर्न नदिनका लागि नगर प्रहरीलाई ड्युटि लगाइएको छ ।

महानगरले आजैबाट स्कुल कलेज अस्पताल लगायत स्थानबाट १०० मिटर नापेर धूमपान तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्रको रेखाङकन गरेको छ ।

‘हाम्रो प्रहरी टोलीले ती स्थानमा फिता लिएर गएर नापेर रेखा तथा चिन्ह लगाएका छन् । त्यस भित्र कसैले पनि सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोग गर्न पाउने छैनन्,’ हाछेथुले भने ।

यता सुर्ती नियन्त्रण सम्वन्धि अभियानमा लामो समय देखि लाग्दै आएको संस्था एक्सन नेपालले ललितपुर महानगरको एन्टी टोवाको क्याम्पियनलाई उत्कृष्ठ कार्यको संज्ञा दिएको छ । एक्सन नेपालका कार्यक्रम अधिकृत मोहितसिंह ठगुन्नाले सुर्ती नियन्त्रण सम्वन्धी कानून बनेको करीव एक दशक पछि ललितपुर महानगरबाट त्यसको प्रभावकारी कार्यान्वयन हुन थालेको भन्दै खुशी व्यक्त गरे । उनले महानगरको अभियानमा एक्सन नेपालले कानूनी व्यवस्थाको बारेमा अवगत गराएको समेत जानकारी दिए । उनले महानगरको अभियानमा आफ्नो संस्थाले पनि कुनै न कुनै रुपमा जोडिएर सहकार्य गरेको समेत बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *