कोभिड–१९ महामारीको समयमा जापानको आत्महत्या दरमा वृद्धि

टोकियो, २ भदौ । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ ।

सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा यो सङ्ख्या अत्यधिक भएको बताएको छ ।

अनुसन्धान रिपोर्ट अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेरका युवती भएको पाइएको छ । कोभिडका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि उल्लेख्य सङ्ख्यामा प्रभावित बनेको जनाइएको छ ।

विवरण अनुसार उक्त अवधिमा महिलापुरूष गरी एक हजार ८३७ यूवाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए ।

महामारीका कारण भएका भनिएका ३७७ आत्महत्या मध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन् ।

टोकिया विश्वविद्यालयका सह–प्राध्यापक ताइसुके नाकाताले क्योदोसँग भने, “पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुन्छन्, जबकि व्यवहारिक प्रतिबन्धका कारण युवाहरू आइसोलेसनमा बस्न बाध्य हुने सम्भावना बढी हुन्छ ।

क्योदोका अनुसार ‘जापानमा आत्महत्याको दर बढ्नुको प्रमुख कारण आर्थिक कठिनाइ रहेको विश्वास गरिएको छ, किनकि बेरोजगारी बढ्दै जाँदा आत्महत्याको मृत्यु दर बढ्छ’ ।

ओसाका विश्वविद्यालयका प्राध्यापक फुमियो ओटाकेले आत्महत्याको संख्याजस्ता तथ्याङ्कलाई ध्यानमा राखेर सरकारले आफ्नो नीति परिवर्तन गर्न आग्रह गरे । कोभिड–१९ सम्बन्धी सरकारी समितिका सदस्यसमेत रहेका ओटाकेले भने, “सामाजिक र आर्थिक गतिविधि रोक्नका लागि कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको जोखिमलाई मूल्याङ्कन गर्न जरूरी छ ।”

उनले सामाजिक–आर्थिक गतिविधि कायम राख्न सङ्क्रमित बिरामीका लागि आइसोलेसन अवधि घटाउनेजस्ता उपायलाई खुकुलो बनाउन आवश्यक रहेको बताए । जापानमा सन् २०१० देखि हरेक वर्ष आत्महत्याका घटनामा कमी आएको थियो । तर सन् २०२० मा यसमा वृद्धि आएको र सन् २०२१ मा पनि उस्तै रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *