पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण

पोखरा, २९ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एकै दिन दुई जनाको बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आएको चिकित्सकहरुको टोलीको सहयोगमा शनिबार एकै दिन दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपण हुनेमा रुपाकोट गाउँपालिकाका, कास्कीका ५३ वर्षीय पुरुष र चापाकोट नगरपालिका स्याङ्जाका ४२ बर्षका पुरुष रहेका छन् । प्रत्यारोपणका लागि उनीहरु दुबैलाई आफ्ना श्रीमतीहरुले मिर्गौला दान गरेका थिए ।

प्रत्यारोपणका लागि सघाउन भक्तपुरबाट केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणविद डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा टोली पोखरा आएको थियो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । उनले प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर गराउन योजनाबद्ध ढंगले अघि बढी रहेको बताए ।

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर बनाउनको लागि नेफ्रोलोजिष्ट, सर्जन, एनेस्थेसियोलोजिष्ट, कोर्डिनेटर र ओटी तथा आइसीयु नर्सहरुलाई तालिम दिई रहेको बताए ।

प्रतिष्ठानमा यसअघि गत ९ असारमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा श्रेष्ठको नेतृत्वमा आएको टोलीको सहयोगमा प्रत्यारोपण भएको थियो ।

त्यसो त प्रतिष्ठान र केन्द्रबीच मिर्गौला प्रत्यारोपण कार्यक्रम अघि बढाउन सम्झौँता भएको छ ।

सम्झौँतामा प्रतिष्ठानका लागि आवश्यक जनशक्ति तयार गर्न तथा तालिमको व्यवस्था केन्द्रले मिलाउने र प्रतिष्ठान आफै सक्षम नहुँदासम्म केन्द्रको टोलीले गएर सघाउने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *