रजिष्ट्रार पद रिक्त हुँदा नर्सिङ परिषद्को नियमित काम नै रोकियो

परिषद् भन्छ, 'अर्को सूचना प्रकाशित नभएसम्म सेवा दिन सक्दैनौँ'

काठमाडौँ, २४ साउन । रजिष्ट्रार पद रिक्त भएपछि नेपाल नर्सिङ परिषद्को सेवा अवरुद्ध भएको छ । यसअघि रजिष्ट्रार रहेकी विन्दा घिमिरेको चार बर्षे कार्यकाल गत शुक्रबार सकिएको थियो ।

परिषद्ले अर्को सूचना नभएसम्मका लागि केही कामहरु रोकिएको बताएको छ ।

परिषद्ले वेवसाइटमा राखेको सूचनामा कारण खुलाइएको छैन् तर अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरुलाई जारी गर्ने प्रमाणपत्र, नविकरण, प्रतिलिपि र भेरिफिकेसन सम्वन्धी कामहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि उपलव्ध नहुने जानकारी गराएको छ ।

परिषद् सदस्य राधा सिलवालले रजिष्ट्रार नहुँदा यी सबै काम रोकिएको बताईन् । ‘यी सबै काम रजिष्ट्रारले गर्नुपर्ने हुन्छ । अघिल्लो रजिष्ट्रारको पदावधि शुक्रबार सकियो, त्यसपछि परिषद् रजिष्ट्रार विहीन बन्यो । त्यसैले २२ साउन आइतबार देखि केही महत्वपूर्ण कामहरु रोकिएको छ,’ उनले भनिन् ।

त्यसो त स्वास्थ्य मन्त्रालयले परिषदको रजिष्ट्रार नियुक्तीका लागि मन्त्रिपरिषदमा नाम पठाइसकेको छ । तर मन्त्रिपरिषदले निर्णय गर्न ढिलाई गर्दा नियमित काम अवरुद्ध भएको हो ।

‘रजिष्ट्रारले गर्ने थुप्रै कामहरु छन् । त्यसमध्ये लाइसेन्स वितरण पनि हो । अहिले विभिन्न असपतालमा करारमा दरखास्त मागिएका छन् । केही साता अघि लाइसेन्स परीक्षामा पास भएकाहरुले दरखास्त दिन पाउँथे तर लाइसेन्समा सहि गर्ने रजिष्ट्रार नहुँदा अफ्टेरो परयो,’ नर्स सिता केसीले भनिन् ।

परिषद्की सदस्य सिलवालले तत्कालका लागि काम चलाउ रजिष्ट्रार लगेर भएपनि अवरुद्ध भएको काम सुचारु गर्ने प्रयासमा लागेको बताईन् । ‘मन्त्रिपरिषद्ले नियुक्त गर्ने कहिले हो कहिले तर काम त रोकिनु भएन भनेर हामीले मन्त्रालयमा पहल गरेका छौँ । छिटैनै काम चलाउ रजिष्ट्रार पाउँछौँ होला,’ उनले भनिन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *