‘श्रीलङ्कामा औषधि अभावले केहीलाई मृत्युदण्ड दिएको छ’

कोलम्बो, ११ जेठ । अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् ।

श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ ।

राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा रोशन अमरतुङ्गा बताउँछन् ।

“कहिलेकाहीँ हामी शल्यक्रियाको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौँ ‘ किनकि त्यहाँ औषधिको आपूर्ति छैन,” औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा परेको पीडादायी परिस्थितिको वर्णन गर्दै उनी भन्छन् ।

भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेका छन् भए पनि अस्पतालमा ती जीवनदायी ओखती आउन चार महिना लाग्नसक्ने उनी बताउँछन् । सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको उनले बताए । यदि स्थितिमा शीघ्र सुधार भएन भने धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने उनले बताए ।

सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा ठूाले आर्थिक सङ्कटको सामना गरिरहेको छ । कोविड–१९ का कारण पर्यटन–निर्भर अर्थतन्त्रमा नराम्रो असर मात्र परेन तेलको मूल्यमा वृद्धि, लोकप्रिय कर कटौती र रासायनिक मलको आयातमा गरिएको प्रतिबन्धले कृषि क्षेत्रलाई पनि तहसनहस पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *