मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा जोशी निलम्बनमा

काठमाडौँ, १४ बैशाख । हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी निलम्बनमा परेका छन् । उनी गत १२ बैशाख देखि निलम्बनमा परेका हुन् ।

त्यसअघि उपकुलपति प्राडा जोशीले पदीय जिम्मेवारी पुरा नगरेको भन्दै पाँच जना सदस्यहरुले कुलपति समक्ष निवेदन दिएका थिए । मुख्यमन्त्री समेत रहेका प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले सो निवेदनमाथि कारवाही अघि बढाउँदै तीन सदस्यीय छानवीन समिति गठन गरेपछि उपकुलपति जोशी स्वत निलम्बनमा परेका हुन् ।

प्रतिष्ठान ऐनको दफा २४ मा उपकुलपति लगायतका पदाधिकारीहरुलाई पदबाट हटाउन सक्ने व्यवस्था उल्लेख छ ।

सो दफाको उपदफा १ मा, ‘पदीय जिम्मेवारी पुरा नगरेको वा पद अनुरुपको आचरण नगरेको वा इमान्दारी पूर्वक आफ्नो कर्तव्य पुरा गरेको छैन भनी सभामा तत्काल कायम रहेका एक चौथाई सदस्यले कुलपति समक्ष निवेदनमा दिएमा कुलपतिले सभाको कुनै सदस्यको अध्यक्षतामा अन्य कुनै एक सदस्य र मन्त्रालयको सचिव रहेको तीन सदस्यीय छानविन समिति गठन गर्नेछ,’ भनिएको छ ।

यस्तै उपदफा ३ को १ मा ‘समिति गठन भएपछि निर्णय नभएसम्म त्यस्तो पदाधिकारीहरु आफ्नो पदबाट स्वत निलम्बन हुनेछ’ भन्ने उल्लेख छ ।

यहि दफा तथा उपदफालाई टेकेर कुलपतिले छानवीन समिति गठन गरेका हुन् ।

उनले मुख्यमन्त्री कार्यालयका कानून हेर्ने सचिव विनोदकुमार भट्टराईको संयोजकत्वमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठ सदस्य रहने गरी तीन सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

‘गत सोमबारको निर्णय हो । त्यस दिन देखि उहाँ निलम्बनमा पर्नु भएको छ,’ मुख्य मन्त्री कार्यालय स्रोतले भन्यो ।

प्राडा जोशीलाई बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले १६ साउन २०७७ मा उपकुलपति पदको जिम्मेवारी दिएका थिए ।

उनको पदावधी ४ वर्षको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *