५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

कति जनशक्ति र बजेटको व्यवस्था गरिएको छ यो अभियानमा ?

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली (६ र ७ बैशाख) ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लिला बिक्रम थापाका अनुसार ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय पालिकामा रहेका ६ महिना देखि ५९ महिनासम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका करीब २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने योजना रहेको छ ।

उनले गत फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरुमा २ वर्ष माथिका बालबालिकाहरुले जुकाको औषधि खाईसकेको हुन सक्ने भएकोले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन निर्देशन दिएको बताए । उनले औषधि खुवाउने बालबालिकाहरुको पोषण अवस्था हेर्न पाखुराको नाम लिने योजना समेत रहेको बताए ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।

कति बजेट र कति जनशक्ति परिचालन ?

पोषण शाखा प्रमुख थापाले दुई दिने यो अभियानका लागि करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिने बताए । यस्तै करीब १५ हजार स्वास्थ्यकर्मी समेत खटिने जानकारी दिए ।

सरकारले अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको लागि दैनिक ४०० रुपैयाँको दरले दुई दिनको ८ सय रुपैयाँ दरले भत्ता दिने गरेको छ । त्यसका लागि करीव ४ करोड रुपैयाँ खर्च हुने थापाले बताए । यस्तै १५ हजार स्वास्थ्यकर्मीका लागि करीब २० लाख भत्तामा खर्च हुने जानकारी दिए ।

यस्तै भिटामिन ए र जुकाको औषधि खरीदका लागि करीब २ करोड ५१ लाख रुपैयाँ खर्च हुने गरेको थापाले बताए । यो अभियानका लागि कुल ६ करोड ७२ लाख जति खर्च हुने उनको ठम्याई छ ।

औषधि खर्च र स्वासथ्यकर्मीको खर्चका लागि संघले ससर्त बजेटबाट स्थानीय तहमा सोझौ बजेट पठाउने गरेको छ । स्थानीय तहले आवश्यकताका आधारमा औषधि खुवाउने बुथ तोक्ने र जनशक्ति परिचालन गर्ने गर्दछ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *