स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आइतबार देखि काठमाडौँमा सुरु हुँदै

कामाडौँ, २६ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले आगामी २७ देखि २९ चैतका लागि तय गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको छ । परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

कोभिड १९ को महामारीका कारण विगतका दुईवटा सम्मेलन भरच्युअल माध्यमबाट सम्पन्न भएका थिए । तर यसपटकको सम्मेलनमा सहभागीहरु भौतिक र भरच्युअल रुपमा उपस्थिति हुने बताइएको छ । सम्मेलन बबरमहलस्थित कार्की व्यांकेटमा हुनेछ ।

सम्मेलन २७ चैत देखि सुरु भएपनि औपचारिक उदघाटन भने २८ चैतमा हुनेछ । सम्मेलनको उदघाटन स्वास्थ्य मन्त्री बिरोध खतिवडाले गर्नेछन् । त्यसै दिन विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का प्रमुख डा. टेड्रोस अधोनम घेब्रेयससले पनि भरच्युअल रुपमा सम्वोधन गर्नेछन् । यस्तै स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि त्यस दिन आफ्ना धारणाहरु राख्ने कार्यक्रम छ ।

परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवालीले आइतबार ( २७ चैतमा) प्रि- समिट हुने र २८ चैतमा औपचारिक उदघाटन हुने बताए । विभिन्न स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद, जनसंख्याविद, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरुलाई एक ठाँउमा ल्याएर तथ्यमा आधारित अनुसन्धानलाई गर्न अभिप्रेरित गर्ने मुख्य उदेश्य रहेको भन्दै उनले सम्मेलनबाट आएका निस्कर्षहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाउने र त्यसले नीतिगत निर्णयमा सहयोग गर्ने समेत विश्वास व्यक्त गरे ।

डा. ज्ञवालीले सम्मेलनलाई सफल बनाउन स्टेरिङ कमिटि, एडभाइजरी कमिटि, स्यान्टेफिक कमिटि, अर्गनाइजिङ कमिटि तथा अवार्ड सेलेक्सन सब कमिटि गठन गरि कामको बाँडफाँड गरिएको समेत जानकारी दिए ।

तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरू परिषदमा पेश गरेको र तीमध्ये ११२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएको परिषदले जनाएको छ । तर प्राप्त लेखलाई बाह्य तथा अन्तरिक समीक्षा गर्दा ४० लेखहरु मौखिक प्रस्तुतीकरणका लागि छनौट भए भने बाँकी रहेका मध्ये उत्कृष्ट अंक ल्याएकालाइ अनुसन्धानकर्ताको स्वीकृति लिएर पोष्टर प्रस्तुतीकरणका लागि थप गरिएको बताइएको छ ।

सम्मेलनमा पोष्टर प्रस्तुतीकरणका लागि ८७ वटा अब्स्ट्याक्ट समावेश गरिएको छ । यस्तै ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई आमन्त्रित प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको छ । यस्तै यसैगरी उत्कृष्ट प्रस्तुती लगायतका विभिन्न विधामा दिइँदै आइएको अवार्ड यसपटक पनि दिइने जनाइएको छ ।

तेस्रो दिन भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यवान्यवन अनुसन्धानला बारेमा छलफल र समानान्तर सत्रहरु रहनेछ। जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे वृहत छलफल हुनेछ। कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न अवार्डद्वारा सम्मानित गरिनेछ ।

जसमा एनएचआरसी वेष्ट रिसर्च पेपर अवार्ड , हेल्थ रिसर्च अवार्ड , मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर अवार्ड (चिकित्सक), मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड , एनएचआरसी वेष्ट पर्फमर अवार्ड , बेष्ट प्रिजेन्टेसन अवार्ड (ओरल) र वेष्ट प्रिजेन्टेसन अवार्ड (पोष्टर) अवार्ड रहेका छन् ।

त्यस्तै, पब मेडमा इन्डेक्स भएको बायोमेडिकल जर्नलमा विगत ५ वर्षदेखि सबैभन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक जना नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा परिषदका अध्यक्ष प्राडा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रका लागि अनुसन्धानको अत्यन्त ठूलो महत्व रहेको भन्दै त्यसका लागि विगत आठ वर्ष देखि परिषदले स्वास्थ्य क्षेत्रका बैज्ञानिकहरुको पहिचान गर्ने पहल गरेको बताए ।

परिषदका प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले सम्मेलनले देशमा स्वास्थ्य अनुसन्धानको कार्यलाई प्रोत्साहन मिलेको भन्दै थुप्रै युवा बैज्ञानिकहरुले आफ्नो क्षमता प्रस्तुत गरेको बताए । उनले पछि आउने निष्कर्षहरुबाट स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने भन्दै सरकारलाई उपलव्ध गराउने बताए ।

आफ्नो स्थापना दिवसको अवसर पारेर परिषदले विसं २०७२ साल देखि हरेक वर्ष शिखर सम्मेलन गर्दै आईरहेको छ । यसवर्षको शिखर सम्मेलनको नारा “स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ” तय गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *