अस्पताल भित्रै हृदयघात भएर ३५ वर्षीय चिकित्सकको मृत्यु

नवलपरासी, २ चैत । नवलपरासीको चिसापानी अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत डा दिपेन्द्रप्रताप सिंहको हृदयघातबाट निधन भएको छ । गत आइतबार विहानको डिउटी सकेर डाक्टर डिउटी रुममा सुस्ताएका ३५ वर्षका डा सिंह त्यहि नै मृत अवस्थामा फेला परेका हुन् ।

अस्पतालका प्रशासक एवं जनस्वास्थ्य निरीक्षक रमेशचन्द्र न्यौपानेले पोष्टमार्टम रिपोर्टले डा सिंहलाई हृदयघात भएको पत्ता लागेको बताए ।
परासी घर भएका डा सिंह करार सेवामा गत एक वर्ष देखि चिसापानी अस्पतालमा कार्यरत थिए ।

घटना कसरी थाहा भयो ?
अस्पतालका प्रशासक न्यौपानेका अनुसार डा सिंह गत आइतवार विहान ७ बजे तिर विहानको डिउटी सकी अस्पताल बाहिरको क्यान्टिनमा चिया खाएर डिउटी रुम फर्केका रहेछन् । तर त्यसको जानकारी घटनापछि मात्रै थाहा भयो । जव सफाई गर्ने कर्मचारीले डाक्टर डिउटी रुम भित्रबाट नखुलेपछि खोजी गर्दा डा सिंह हराएको पाइयो र पछि ढोका फोडेर हेर्दा उनको सुतेको अवस्थामा मृत शरीर फेला परेको थियो ।

‘विहानको डिउटी सकेर चिया खाई भित्र पस्नु भएको रहेछ । दिउसो हाम्रो सफाई गर्ने कर्मचारीहरुले डाक्टर डिउटी रुम खोल्न खोज्दा भित्रबाट लक भएको थाहा भयो । त्यसपछि हामीलाई जानकारी भयो । सबै खोजी गर्दा डा सिंह भेटिनु भएन । उहाँलाई बाहिर निस्केको पनि कसैले देखेको रहेनछ । त्यसपछि फोन गरेउ चिच्चायौँ अन्त्यमा ढोका फोडेर हेर्दा मृत अवस्थामा भेटियो,’ न्यौपानेले भने ।

उनले त्यसपछि गरिएको पोष्टमार्टम रिपोर्टले डा सिंहको मुटुका सबै भल्भ ब्लक भएकोले गम्भीर हृदयघात भएको थाहा भएको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *