क्यान्सर र यसको मनोवैज्ञानिक चिरफार

– डा. पुन्य खर्बुजा

हरेक वर्ष ४ फेब्रुअरीलाई विश्व क्यान्सर दिवसको रुपमा संसारभर विभिन्न कार्यक्रम, अठोट, प्रतिज्ञा गरेर धुमधामका साथ मनाईन्छ ।

अझ हाम्रो देशमा त विभिन्न संघ संस्थाहरु आजकै दिन भएपनि चोक चोकमा, सार्वजनिक स्थान, दरवार स्क्वायरतिर दिपप्रज्वलन गरी ठूला ठूला अक्षरले  World Cancer Day लेखेर Facebook / Instagram मा फोटोहरु राखेको प्रशस्त देख्न पाईन्छ ।

कसै कसैले त दिवसकै अवसरमा  दुई चार किसिमका फलफुलहरु किनेर क्यान्सर अस्पतालहरुमा गई केमोथेरापी लिईरहेका बिरामीसंग निकै माया देखाउँदै फलफुल बाँढ्दै मुस्कुराएको फोटोहरु खिचाएको सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

जे होस क्यान्सर दिवसकै अवसरमा भएपनि आफूहरुलाई क्यान्सर बिरामी सम्झेर माया, स्नेह र सहानुभूति देखाइएको प्रति क्यान्सरका बिरामीहरु क्षणिक रुपमा भएपनि आनन्द महसुस गर्दा हुन् ।

यस वर्षको क्यान्सर दिवसको नारा “Close the Care Gap” हाम्रो जस्तो विकासोन्मुख देशमा अझ महत्वपूर्ण र सार्थक छ । किनभने क्यान्सर उपचारको यात्राले एक व्यक्तिलाई आफ्नो जीवनशैलीमा पुनर्बिचार गर्न बाध्य पारेको हुन्छ ।

क्यान्सर रोगको उपचार पश्चात स्वास्थ्यलाभ हुँदै गर्दा जीवनमा आएका गगनचुम्बी चुनौतीहरु पार गर्दै एउटा नयाँ जीवनको सुरुवात गर्नु साच्चिकै ती व्यक्तिका लागि महाभारत युद्ध जिते सरह हुन्छ ।

आफ्नो शरीरमा गुमेको आत्मविश्वास पुर्नस्थापित गर्न बास्तवमै क्यान्सर जितेर आएका ती योद्धाहरुलाई अन्योल भविस्यका विभिन्न खराब सोचहरुले सदैव सताईरहन्छ । किनभने क्यान्सर उपचारले अक्सर बिरामीको शरीर र जीवनमा गहिरो दाग अनि प्रभाव छाडेको हुन्छ ।

उदाहरण हेरौं न,

नाक कान घाँटीको शल्यक्रिया र रेडियोथेरापी पश्चात अनुहारमा आउने कुरुपता, लरबरिएको अस्पष्ट बोली, हराएको स्वाद र भोक, असजिलो खुवाई, सुख्खा मुख, चुहि रहने रयाल आदीले जीवनमा साच्चिकै एउटा भिन्न किसिमको कठिनता थपेको हुन्छ ।

पाचन नलिको क्यान्सर उपचार पश्चात अपच खाना, फेरिएको मल र मुत्रद्धार, पेटमा बनाईएको Stoma ले यी बिरामीहरु छुट्टै किसिमको परीक्षा दिईरहेको हुन्छन ।

स्तनमा गरिएको शल्यक्रिया पछि परिवर्तित यौनाङ्ग, मरुभूमि तुल्य झरिएको कपाल, अभिव्यक्तिहीन आँखाहरु लिएर जब जब ऐन अगाडी उभिन्छ, तब तब निर्जिब तुल्य उभिएको शरीरको महशुस हुन्छ ।

यसरी यो घातक रोग र उपचारले उत्पन्न गरेको शारीरिक परिवर्तन र मनोवैज्ञानिक असरले उनीहरुलाई डिप्रेशन, हिनतावोधको शिकार बनाइरहेको हुन्छ । तर पनि समयक्रममा यी ‘क्यान्सर सभाईभर’ हरु बिस्तारै बिस्तारै यी पिडाहरु बिर्सदै, यी समस्याहरुलाई आत्मसाथ गर्दै बाच्न सिक्छन् ।

संसारका विभिन्न अध्ययनहरूले Life Satisfaction Score (जीवन सन्तुष्टि) र  Psychological Issues (मनोवैज्ञानिक समस्याहरू) समय बित्दै जाँदा बिस्तारै बिस्तारै सुधार हुँदै गएको देखिन्छ ।

Cancer Survivor  प्रायः एक किसिमको अनौठो डर, खुशी, दोष, राहत, चिन्ता, मिस्रित भावनाहरूको बोकेर बसेका हुन्छन । क्यान्सरविरुद्धको लडाई हार्ने डर, परिवारको आवश्यकताहरु, यौन र प्रजनन चिन्ता, जागिर र कमाईको चिन्ता अनि मुख्यतय उपचार खर्चको लागी आर्थिक तनावले जीवनमा उदासीनता र कालो बादल छाएको हुन्छ ।

यस्तो कठिन समयलाई डाँडा काट्दै जीवन अगाडी बढाउन बिरामीहरुलाई सिकाउन पर्ने एक प्रभावकारी उपाय हो – सामना गर्ने रणनीति ।
सामना गर्नुपर्ने चुनौतीहरुलाई राम्ररी बुझाएर साथ हौसला र माया दिनु नै उनीहरुको समस्याको समाधान गर्ने अर्जुन बाँड सरहको उपाय हो ।
ध्यान, योग मार्फत आफ्नो जीवनशैलीलाई सन्तुलनमा राख्दै र सृजनात्मक कार्यमा संलग्न बनाएर सकारात्मक सोचका साथ जीवन अगाडी बढाउन प्रोत्साहन गर्नु पर्छ । नियमित शारीरिक गतिविधि, खेल, भ्रमण, सामाजिक संलग्नता नै बिरामीहरुमा चिन्ता भगाउने उत्तम तरिकाहरु हुन् ।

शारीरिक व्यायमले मस्तिष्कमा ” Feel good hormone” उत्पादन गर्नुका साथै यसले Endorphins उत्पादन गर्न मद्दत गर्छ । जसले हामीलाई हाम्रा नकारात्मक विचार र भावनाहरू हटाउन मद्दत गर्दछ।

वास्तवमै ” योग” एक अद्भुत अनुशासन हो, जसको माध्यमबाट मनलाई शान्त पार्न सकिन्छ।  यसले क्यान्सर रोगसँग सम्बन्धित विभिन्न पीडादायी क्षणहरू र चरणहरूबाट छुटकारा पाउन मद्दत गर्दछ। जीवनका सबै अनुभवहरू राम्रो वा नराम्रो भएता पनि जीवनको एक महत्त्वपूर्ण पाठ हुन् ।

हरेक Cancer survivor हरुले जीवनमा आईपर्ने समस्याहरूलाई चुनौतीको रूपमा लिदै  Just roll on गर्दै अगाडी बढ्नु जरुरी छ।

त्यसैले क्यान्सरसँगको लडाइँमा  मानिसले दिमागको अविश्वसनीय क्षमतालाई बुझ्न मौका पाएको हुन्छ र मस्तिस्कको यो अद्भुत क्षमता आत्मसाथ गर्दै सकारात्मक विचार अंगाल्दै अगाडी बढेमा क्यान्सर त के संसारका जस्तो सुकै प्रकोपलाई सामना गर्न सकिन्छ ।

# क्यान्सर शल्यचिकित्सक डा. खर्बुजा भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *