कोभिडको महामारीमा अस्पतालको आकस्मिक विभागको चुनौती

डा.  मनोज गैरे

– डा.  मनोज गैरे

गत  नोभेम्वरमा विश्व स्वास्थ्य संगठनले डेल्टा र ओमिक्रोन भेरियन्टका कारण फेरी एक पटक कोरोनाको सुनामी आउन सक्ने चेतावनी दिएको थियो । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट देखिएपछि डव्लुएचओले दिएको यो चेतावनीलाई कसले कसरी लिए त्यो थाहा भएन तर विश्वमा कोरोनाको ठूलो छाल पुन: फर्केर आयो ।

अफ्रिका, युरोप, अमेरिका हुँदै एसिया छि¥यो । हाम्रो छिमेकी मुलुक भारतमा पस्यो र त्यसको केही साता पछि नेपालमा पनि असर देखिन थाल्यो ।

स्वास्थ्य मन्त्रालयले निकालेको तथ्यांक हेर्दा यतिवेला देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमित ५४ हजार हाराहारीमा देखिन्छ । केही साता अघिकै तुलना गर्दा कोभिडका कारण अस्पताल भर्ना हुने दर र मृत्यु दरमा पनि बढोत्तरी देखिन्छ ।

यस्तै अस्पतालको आकस्मिक विभाग अन्तरगर्तको फिभर क्लिनिक, वेलनेश क्लिनिक, जीपी ओपिडी र आकस्मिक कक्षमा आउने बिरामीको संख्या तुललान्तमक रुपमा पछिल्लो समय बढेको छ ।

संक्रमणदर ह्वात्तै बढ्नुमा ठूलो हिस्सा ओमिक्रोन भेरियन्ट नै हो । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक संक्रमितको जीन सिक्वेन्सिङ गर्दा ८० प्रतिशतमा ओमिक्रोन र २० प्रतिशतमा डेल्टा भेरियन्ट भएको पाइएको थियो ।

ओमिक्रोन भेरियन्ट लागेकामा जटिलता कम भएपनि सबै कोरोनाका बिरामी ओमिक्रोन नै हुन भन्न सकिन्न । समुदायमा करीव २० प्रतिशत जटिलता ल्याउन सक्ने डेल्टा भेरियन्टका केशहरु अहिले पनि छन् । डेल्टा भेरियन्ट लागेका बिरामीहरुलाई केही दिनमै श्वासप्रश्वास समस्या आउने, अक्सिजनको मात्रा कम हुँदै जाने र निमोनिया देखिएर आकस्मिक कक्षमा आएका छन् ।

कस्तो छ नेपालका अस्पतालहरुको अवस्था ?

नेपालमा पहिले देखि नै आकस्मिक विभाग चलाउन क्षमता राख्ने अस्पताल मात्रै होइन, एमरजेन्सी फिजिसियन, एसीएलएस बीएलएस तालिम प्राप्त मेडिकल अधिकृत, नर्सहरुको कमी छ ।

त्यसमाथी अहिले धेरै स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणले होम आइसोलेसनमा बस्नु परेको छ । एकै जनाले १२ घण्टासम्म काम गरेर २४ सै घण्टा आकस्मि विभाग चलाउनु परेको छ । कोभिड र नन्  कोभिडका बिरामीलाई त्यहि सिमित जनशक्ति र स्रोत साधनले उपचार गर्नुपरेको छ ।

सन् २०२० को सप्टेम्बरमा नेपालमा कोभिडका बिरामी उपचार गर्ने स्वास्थ्यकर्मीमा अध्ययन गरिएको थियो । सो अध्ययन अनुसार ४२ प्रतिशत, स्वास्थ्यकर्मीहरुलाई एन्जाइटी डिसअर्डर, ३८ प्रतिशतमा डिप्रेसन र ३४ प्रतिशतलाई निन्द्रा नलाग्ने समस्या देखिएको थियो । घण्टौसम्म पीपीई लगाएर काम गर्दा छाला पोल्ने, रातो हुने, पसिना आउने, चिलाउने र शरीरमा पानीको मात्रा कम हुने गर्छ । यसका बाबजुत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । महामारीविरुद्धको यो लडाईँमा हरेक स्वास्थ्यकर्मीले गरेको कार्यको जति प्रसंशा गरे पनि कम हुन्छ ।

स्टारले यसरी व्यवस्थापन गरेको इमरजेन्सी विभाग

कोभिड महामारीका बेला,अझ त्यसमा पनि ओमिक्रोन देखिएका बेला, सबैभन्दा सबैभन्दा जोखिमपूर्ण काम अस्पतालका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुले गर्नु पर्ने हुन्छ । किनभने अहिले ज्वरो नआए पनि धेरै श्वासप्रश्वासका बिरामीहरु जस्तै पुरानो दम, आस्थ्मा भएकाहरु, मुटु र मधुमेहका बिरामीहरु पीसीआर पोजेटिभ आएको छ । यस्तो बेलामा आकस्मिक कक्षमा काम गर्ने स्वास्थ्यकर्मीले संक्रमणबाट आफू जोगिएर इमरजेन्सीमा आएका सबै खाले बिरामीलाई पनि जोगाउनुपर्ने जरुरी हुन्छ ।

कोभिडकै कारण अन्य रोगका बिरामीलाई पनि भर्ना गर्न गाह्रो भइरहेको छ । किनभने कतिपयमा लक्षण विना नै कोभिड पोजेटिभ देखिन सक्ने हुँदा सबै बिरामीलाई कोभिड नै हुनसक्ने मूल्यांकन गर्दै घण्टौसम्म सतर्क भएर उपचार गर्नुपर्ने बाध्यता छ ।

हाम्रो अस्पतालका आकसिमक कक्षमा कोभिडका मात्रै होइन नन् कोभिडका अन्य बिरामी जस्तै ट्रमा केश, मुटुका बिरामी, न्युरोका बिरामी, छारे रोग, रक्त संक्रमण, उच्च रक्तचाप, नवजात शिशु, गर्भवती महिला आदि सबैको उपचार भइरहेको छ ।

हामीले बिरामीलाई प्राथमिक उपचार दिएर केही सजिलो बनाएर, अवलोकन एकाईमा राखेर उच्चस्तरको केयर, उपचार दिदै पीसीआरको रिपोर्ट आएपछि भर्ना वा डिस्चार्ज गर्दछौँ ।

उच्चस्तरको आकस्मिक उपचार सेवाका लागि प्रयाप्त एमडीजीपी इमरजेन्सी, फिजिसियन, र प्यारामेडिक्सको टिम, भेन्टिलेटर, प्रयाप्त बेड, होल्डिङ कक्ष, फिभर क्लिनिक, ए ग्रेड एम्बुलेन्स सहितको सेवा सञ्चालन गर्न सकिएको हुँदा हामी जस्तो महामारी आएतापनि त्यसलाई व्यवस्थापन गर्न सक्षम छौँ ।

# डा. गैरे स्टार अस्पताल सानेपामा MDGP -EM Consultantको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *