औषधि ब्यवस्था विभागको महानिर्देशकको रुपमा भरत भट्टराईले सम्हाले कार्यभार

फाइल फोटो

काठमाडौँ, १४ पुस । अन्तत: औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कार्यभार सम्हालेका छन् । बिहीबार दिउसोबाट उनले महानिर्देशकको रुपमा केही निर्णयहरु गर्दै कार्यभार सम्हालेका हुन् ।

भट्टराईलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । तर, त्यसअघिका महानिर्देशक नारायणप्रसाद ढकालले कुर्सी नछाडेपछि भट्टराई हाजिर गर्ने फर्किने गर्दै आएका थिए ।

मन्त्री खतिवडाले ढकाललाई सुरुमा राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाएर पठाइएपनि त्यहाँ जान नचाहेपछि मंगलबार अर्को निर्णय गर्दै मन्त्रालय तानेका थिए । तर त्यसमा पनि ढकाल त्यति खुशी देखिएनन् । उनी विहीबार विहानसम्म पनि विभागको महानिर्देशकको कुर्सीमै देखिन्थे । तर, दिउसो भने उनी मन्त्रालय गए र विदा स्वीकृत गराए । यद्धपी उनले महानिर्देशकको जिम्मेवारी छाडी नसकेको बताएका थिए ।

‘सरुवा भएर आएको लामो समय भइसकेको थियो । तर उहाँ (ढकाल)ले कार्यकक्ष नछाडेको अवस्था थियो । मैले पनि डिस्टर्व गर्न चाहिन तर महानिर्देशकको रुपमा हाजिर गरिरहेको थिएँ ।  विहीबार (हिजो) उहाँ (ढकाल)को मन्त्रालयबाट विदा लिएको र स्वीकृत भएको जानकारी आयो । त्यसपछि केही अत्यावश्यक काम पनि गर्नै पर्ने थियो । मैले महानिर्देशकको रुपमा निर्णय गरिदिएँ,’ भट्टराईले भने ।
उनले आजबाट महानिर्देशकको कार्यकक्ष पनि पाउने विश्वास व्यक्त गरे ।

‘स्वास्थ्यको नयाँ संरचना अनुसार प्रमुख औषधि व्यवस्थापक पद एघारौँ तहको दरबन्दी औषधि व्यवस्था विभागको महानिर्देशक र राष्ट्रिय औषधि प्रयोगशालामा प्रमुखको रुपमा रहने व्यवस्था छ । ढकाल र भट्टराई दुबै एघारौँ तहका भएका कारण उनीहरुको जिम्मेवारी त्यहाँ साटफेर हुनुलाई अस्वभाविक मानिदैन् । तर यसपटक विभागमा भने रमिता नै देखियो,’ एक औषधि व्यवसायीले टिप्पणी गरे ।

‘विभागमा साढे ४ महिना अघिसम्म अर्थात १५ भदौसम्म म नै महानिर्देशक थिएँ । यसबीचमा मलाई प्रयोगशालामा पठाइयो । म त्यहाँ पनि हाजिर हुन गएँ । फेरी मलाई यता ल्याइयो यता आएँ । राज्यले जहाँ व्यवस्था गरेको छ, जहाँ खटाएको छ त्यहि जाने हो । यसलाई सहज रुपमा लिनुपर्छ भन्ने लाग्छ,’ भट्टराईले भने ।

ढकालले भने आफू भन्दा कनिष्ठलाई महानिर्देशक बनाएको बताउँदै आएका थिए ।

‘तर विभागमा भट्टराई महानिर्देशक बन्नु अघि पनि ढकाललाई हटाएर दशौँ तहका पान बहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको रुपमा जिम्मेवारी दिइएको अवस्था थियो । जिम्मेवारी भन्ने कुरा आवश्यकता, र कार्यक्षमताले पनि निर्धारण गर्दछ । यसलाई स्वभाविक रुपमा लिनु पर्दथ्यो,’ विभागका पूर्व एक अधिकारी भन्छन्, ‘सधैभरी मै मात्रै हुनुपर्छ भन्ने हुँदैन् । ढकाल जीले सहज रुपमा कुर्सी छाडिदिनु पर्दथ्यो । यसले उहाँको गरिमा बढाउथ्यो ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *