औषधि व्यवस्था विभागमा दुई जना महानिर्देशक !

काठमाडौँ, २ माघ । औषधि व्यवस्था विभागमा आइतबार (आज) दुई जनाले महानिर्देशकको रुपमा हाजिर गरेका छन् । त्यसरी महानिर्देशकको रुपमा हाजिर गर्ने नारायणप्रसाद ढकाल र भरत भट्टराई हुन् ।

तर, ढकाल हाजिर गरेपछि महानिर्देशककै कुर्सीमा बसेका छन् । अर्का महानिर्देशक भट्टराई भने हाजिर गरेर निस्केका छन् ।

सुन्दै अनौठो लाग्ने यो ‘लफडा’ गत साता स्वास्थ्य मन्त्रालयले गरेको सरुवा पछि उब्जिएको हो ।

मन्त्रालयले गत २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा राष्ट्रिय औषधि प्रयोगशालाका भरत भट्टराईलाई जिम्मेवारी दिएको छ । सोही अनुसार भट्टराई आज नयाँ जिम्मेवारी सम्हाल्न विभाग पुगेका थिए । तर सरुवामा परेका महानिर्देशक ढकालले आफूकहाँ कुनै पत्र नआएको भन्दै कुर्सी नछाड्ने अडानमा रहे ।

‘गत २५ पुसको निर्णय हो । झण्डै एक साता त मैले छाडिदिए, सरुवा पत्र रमाना सबै आइसकेको छ । अब त नयाँ जिम्मेवारी सम्हाल्नु पर्‍यो भन्दै आज गएको हुँ । तर उहाँले कुर्सी छाड्न मान्नु भएन । मै हुँ महानिर्देशक भनेर बस्नुभयो । त्यसपछि म हाजिर गरी मन्त्रालयतिर आएको छु,’ भट्टराईले भने ।

उता ढकालले भने आफू सरुवा भएको कुनै पत्र नआएको र पत्रपत्रिकामा आएको समाचारको भरमा आफूले कुर्सी छाड्न नमिल्ने भएर नछाडेको बताए । ‘खासमा यो सरुवामा अलि विवाद पनि छ । पुरानो मितिमा सरुवा भएको भन्ने पनि छ । अर्को कुरा मैले चिठी पाएको पनि छैन् । बुझेको पनि छैन् । यत्तिकै किन छाड्ने ?’ ढकालले भने ।

विभागको महानिर्देशक पद र प्रयोगशालाको निर्देशक पद दुबै एघारौँ तहको कर्मचारी हुने व्यवस्था छ । महानिर्देशक बनेका ढकाल र भट्टराई दुबै जना एघारौँ तहका कर्मचारी हुन् ।

विभागमा साढे ४ महिना अघिसम्म अर्थात १५ भदौसम्म भट्टराई महानिर्देशक थिए । गत १५ भदौमा स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई तेस्रो पटक महानिर्देशक र भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक । साढे चार महिना पछि यी दुई बीचको जिम्मेवारी पुन: उल्टिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *