कोरोना जोखिम : १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


काठमाडौँ, २६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई बार्षिक विदामा मिलान हुने गरी १५ माघ सम्म विदा दिन निर्देशन दिने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार मन्त्रालय आज सूचना जारी गर्ने तयारी गरेको हो ।

‘सीसीएमसीले हिजो जे सिफारिस गरेको छ । निर्णय त्यहि नै हो । हामीले त्यसलाई कार्यान्वयनका लागि निर्देशनात्मक सूचना जारी गर्ने हो । आज केही वेरमा हामीले त्यो सूचना पनि जारी गर्दैछौँ,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने ।

सीसीएमसीले विदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुालई र १८ वर्षमाथिका सबै उमेर समूहका पूर्ण खोप लगाउन बाँकी शिक्षक कर्मचारी तथा अभिभावकहरुलाइ खोप उपलव्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान सञ्चालन गर्न सहजीकरण गर्न समेत सिफारिस गरेको छ ।

यस्तै सिफारिस अनुसार नै मन्त्रालयले विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुलाइ पूर्व निर्धारित सेमेष्टर र बार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न, परीक्षा केन्द्रहरुमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दुरीको प्रावधान कडाईका साथ परिपालिना गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिने भएको छ ।

‘कोभिड संक्रमणको जोखिम बढेर नै सीसीएमसीले विभिन्न निकायहरुलाई १३ बुँदे सिफारिस गरेको हो । त्यसमा सबैले आ आफ्नो दायित्व पुरा गर्नुपर्ने हुन्छ । शिक्षा मन्त्रालयलाई जे जे सिफारिस भएर आएको छ । त्यसलाई कार्यान्वयन गर्न हामीले मातहतका निकायलाई निर्देशन दिने हो,’ प्रवक्ता शर्माले स्पष्ट पारे ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *