१७ वर्षे विद्यार्थीलाई घरमा बोलाएर खोप लगाइदिने शिक्षिका पक्राउ

बीबीसी । औपचारिक चिकित्सकीय योग्यताबिनै विद्यार्थीलाई कोभिड -१९ विरुद्धको खोप लगाइदिएको आरोपमा न्यूयोर्कस्थित एक विद्यालयकी शिक्षिकालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार लौरा रुसोले एक विद्यार्थीलाई घरमै खोप दिएकी थिइन्। उनीसँग खोप लगाइदिने कानुनी अधिकार छैन र उनले विद्यार्थीका आमाबुवासँग अनुमति पनि मागेकी थिइनन्।

जीवविज्ञान पढाउने ५४ वर्षीय रुसोलाई नववर्षको पूर्वसन्ध्या पक्राउ गरिएको थियो। दोषी प्रमाणित भएको अवस्थामा उनलाई चार वर्षको जेल सजाय हुन सक्छ।

सत्र वर्षीय विद्यार्थीले नै खोप लगाउन चाहेको समेत जनाइएको छ।

खोप प्रयोगको तरिका नमिलेमा जोखिम निम्तिन सक्छ।

चिकित्सक र अनुमतिप्राप्त स्वास्थ्यकर्मीले खोप नक्कली हैन वा म्याद सकिएको छैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ। खोप लगाउने व्यक्तिसँग उसको विगत र वर्तमान स्वास्थ्य अवस्थाबारे गर्नुपर्छ र खोप लगाएपछि निगरानीमा राख्नुपर्छ।

प्रहरीका अनुसार रुसोले उक्त खोप कसरी पाइन् र त्यो कुन कम्पनीको हो भन्ने स्पष्ट छैन। हालसम्म अमेरिकामा फाइजर(बायोएनटेकको खोप मात्र १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा प्रयोग अनुमति दिइएको छ।

लङ आइल्यान्डमा भएको उक्त घटनासम्बन्धी भिडिओमा शिक्षिकाले ती किशोरलाई भनेकी छन्ः ‘मलाई लाग्छ तिमीलाई राम्रो हुन्छ।’

प्रतिक्रियामा ती किशोरले ‘घरकै खोप’ भनेका छन्।

किशोर घर फर्किएपछि उनका आमाबुबाले प्रहरीलाई तत्काल घटनाबारे जानकारी दिएको अधिकारीहरूले बताएका छन्।
ूउनीसँग खोप रहेछ,ू नासाउ प्रहरी कमिशनर प्याट्रिक राइडरले भने। ‘उनले कसरी ती खोप पाइन् भन्नेबारे अनुसन्धान भइरहेको छ।’

रुसोले अध्यापन गर्ने हेरिक्स हाई स्कूलका निरीक्षकले एउटा विज्ञप्ति जारी गर्दै आरोपित शिक्षक जिल्ला तहबाट नियुक्त कर्मचारी भएको र उनलाई अनुसन्धानको प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि अध्यापन गर्नबाट रोक लगाइएको जानकारी सार्वजनिक गरेको अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजले जनाएको छ।

रुसोविरुद्ध पेसाको अनधिकृत अभ्यास गरेको आरोप लगाइएको छ।

अदालतको यो मुद्दाको सुनुवाइ ज्यानुअरी २१ मा हुनेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *