दैनिक दुई घण्टाभन्दा बढी स्क्रिन प्रयोग गर्ने युवामा डिप्रेसन, चिन्ता र निद्रासम्बन्धी समस्या बढ्ने अध्ययनको निष्कर्ष

12
Shares

काठमाडौं । सामाजिक सञ्जालमा लामो समयसम्म स्क्रोल गर्ने बानी युवाको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि गम्भीर जोखिम बन्दै गएको एक नयाँ अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित एक व्यापक समीक्षाअनुसार दैनिक दुई घण्टाभन्दा बढी समय स्क्रिनमा बिताउने युवामा मानसिक स्वास्थ्य कमजोर हुने र डिप्रेसनको जोखिम बढ्ने देखिएको छ।

अनुसन्धानकर्ताहरूले अत्यधिक स्क्रिन प्रयोगका कारण विश्वभर करिब २८ लाख वर्ष बराबरको मानसिक स्वास्थ्यसम्बन्धी क्षति भइरहेको अनुमान गरेका छन्।

सामाजिक सञ्जालमा लगातार स्क्रोल गर्ने क्रममा मानिसले पर्याप्त निद्रा, शारीरिक व्यायाम र प्रत्यक्ष सामाजिक अन्तरक्रियाका लागि छुट्याउनुपर्ने समय गुमाउने भएकाले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने विज्ञहरूको भनाइ छ। त्यसमाथि प्रयोगकर्तालाई लामो समयसम्म प्लेटफर्ममै राखिराख्ने उद्देश्यले डिजाइन गरिएका विभिन्न ‘एडिक्टिभ’ अर्थात् लत लाग्ने खालका फिचरले समस्या थप गम्भीर बनाउन सक्ने अध्ययनले औंल्याएको छ।

मोटोपनसँग पनि जोडियो अत्यधिक स्क्रिन प्रयोग

अनुसन्धानकर्ताहरूका अनुसार इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा लामो समय बिताउने बानी मानसिक स्वास्थ्यमा मात्र सीमित छैन। यसले शारीरिक निष्क्रियता बढाएर मोटोपनको जोखिमसमेत बढाउन सक्छ।

अध्ययनले विश्वभर करिब २ लाख ४० हजार वर्ष बराबरको स्वस्थ जीवन क्षति मोटोपनसँग सम्बन्धित हुन सक्ने अनुमान गरेको छ।

यो निष्कर्ष करिब ९० लाख युवा तथा किशोरकिशोरीसम्बन्धी प्रमाण समेटिएको व्यापक समीक्षाबाट निकालिएको हो। अनुसन्धानकर्ताहरूले यस क्रममा १२१ वटा अघिल्ला अध्ययनको विश्लेषण गरेका थिए।

डिप्रेसन, चिन्ता र निद्रामा असर
अध्ययनमा अत्यधिक तथा समस्याग्रस्त स्क्रिन प्रयोग र विभिन्न स्वास्थ्य समस्याबीच लगातार सम्बन्ध देखिएको छ। विशेषगरी चिन्ता, डिप्रेसन, निद्रासम्बन्धी समस्या र शारीरिक निष्क्रियताको जोखिमसँग यसको सम्बन्ध भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

त्यस्तै, केही प्रमाणले न्युरोडेभलपमेन्टसँग सम्बन्धित अवस्था, जस्तै एडीएचडी र अटिजमसँग पनि समस्याग्रस्त डिजिटल मिडिया प्रयोगको सम्बन्ध देखाएको छ। यद्यपि यी अवस्थाबीच प्रत्यक्ष कारण–परिणाम सम्बन्ध स्थापित गर्न अझै थप अनुसन्धान आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

‘ कम्पनीले स्वास्थ्यलाई प्राथमिकतामा राखेनन्’
अध्ययनको नेतृत्व गरेकी प्राध्यापक इलोना किकबस्चले डिजिटल प्रविधि बालबालिका र युवाको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको बताउँदै प्रविधि कम्पनीहरूले सार्वजनिक स्वास्थ्यलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाएकी छन्।

उनका अनुसार सरकारहरूले प्रविधि कम्पनीलाई आफ्नै नियम बनाउने पर्याप्त अवसर दिएका छन्, जसका कारण प्रयोगकर्ताको ध्यान लामो समयसम्म कब्जा गर्ने र व्यक्तिगत डेटा संकलन गर्ने व्यवसायिक मोडल विकसित भएको छ।

अनुसन्धानकर्ताहरूले प्रविधिको अत्यधिक प्रयोगबाट उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरण गर्न विश्वव्यापी समन्वित पहल आवश्यक रहेको बताएका छन्। उनीहरूले प्रयोगकर्तालाई लामो समयसम्म प्लेटफर्ममा राख्ने उद्देश्यले बनाइएका फिचरको स्वास्थ्यमा पर्ने प्रभावबारे प्रविधि कम्पनीले पारदर्शी रूपमा जानकारी दिनुपर्ने मागसमेत गरेका छन्।

बालबालिकामा झनै गम्भीर असरको चिन्ता
पछिल्ला वर्षहरूमा बालबालिका तथा किशोरकिशोरीमा स्क्रिन र सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई लिएर विश्वभर चिन्ता बढ्दै गएको छ।

यसअघि ‘जामा पेडियाट्रिक्स’ मा प्रकाशित एक अध्ययनले पनि बढी समय स्क्रिनमा बिताउने बालबालिकामा शैक्षिक प्रदर्शन कमजोर हुने तथा भावनात्मक र भाषासम्बन्धी कठिनाइको जोखिम बढ्ने देखाएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार स्क्रिन प्रयोगको प्रभाव कतिपय अवस्थामा बाल विकासलाई असर गर्ने सामाजिक–आर्थिक अवस्था, अभिभावकीय व्यवहार र समयअगावै जन्मिनेजस्ता अन्य महत्वपूर्ण कारकको प्रभावसँग तुलनायोग्य वा त्यसभन्दा पनि बढी हुन सक्छ।

उमेर सीमा मात्रै पर्याप्त छैन
बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन इन्स्टाग्राम र टिकटकसहित विभिन्न सामाजिक सञ्जालले अभिभावकीय नियन्त्रण तथा उमेर प्रमाणीकरणजस्ता व्यवस्था लागू गर्न थालेका छन्।

तर नयाँ समीक्षाका अनुसन्धानकर्ताहरूले उमेरसम्बन्धी प्रतिबन्ध मात्रै पर्याप्त नहुने बताएका छन्।

उनीहरूले बालबालिका तथा युवामा डिजिटल प्रविधिले पार्ने स्वास्थ्य प्रभावको निगरानी गर्न अन्तर्राष्ट्रियस्तरमा छुट्टै संयन्त्र वा निकाय आवश्यक रहेको बताएका छन्। यस्तो निकायले प्रविधि कम्पनी तथा सरकारका नीतिले युवा पुस्ताको स्वास्थ्यमा पार्ने प्रभावको निरन्तर मूल्यांकन गर्नुपर्ने उनीहरूको सुझाव छ।

‘स्वास्थ्य जोखिम रोक्न सकिन्छ’
अनुसन्धानका क्रममा २३ देखि ३० वर्ष उमेर समूहका छ जना युवासँग उनीहरूको प्रत्यक्ष अनुभवबारे पनि छलफल गरिएको थियो।

समूहका सदस्य तथा कनिष्ठ चिकित्सक डा. सलमान फिट्रात खानले डिजिटल प्रणालीबाट उत्पन्न स्वास्थ्य जोखिम र क्षति रोक्न सकिने बताएका छन्।

उनका अनुसार युवालाई डिजिटल प्रणाली निर्माण र नियमनको प्रक्रियामा सहभागी गराउँदै प्रभावकारी शासन व्यवस्था लागू गर्न सके अनलाइन संसारले मानिसलाई सम्पर्क, सूचना र अवसर प्रदान गर्न सक्छ, तर त्यसका लागि स्वास्थ्यलाई जोखिममा पार्नु आवश्यक हुँदैन।

उनले सरकारहरूले ‘पूर्ण प्रमाण’को प्रतीक्षा गरेर मात्र कदम चाल्न नहुने बताएका छन्।

यद्यपि, नयाँ समीक्षालाई स्वागत गर्ने अध्ययनबाहिरका विज्ञहरूले स्क्रिन प्रयोगले नै प्रत्यक्ष रूपमा डिप्रेसन वा अन्य मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने कारण–परिणाम सम्बन्ध अझै स्पष्ट नभएको बताएका छन्। त्यसका लागि थप गुणस्तरीय अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *