निसन्तानको पीरमा १० वर्ष गुजारेकी महिलाले एकै पटक जन्माईन तीन छोरा

काठमाडौँ, १८ पुस । निसन्तानको पीरमा करीव १० वर्ष गुजारेकी एक महिलाले एकैपटक तीन जना .(तिम्ल्याहा) सन्तान जन्माएकी छन् । जुम्लाकी ३४ वर्षीया एक महिलाले नर्भिक इन्टरनेशनल हस्पिटलमा आइतबार विहान तीन जना सन्तान जन्माएकी हुन् ।

लामो समय निसन्तान समस्या भोगेकी ती महिलाले टेष्टट्युव बेबी भनिने इन्भिट्रो फर्टिलाइजेसन (आईभिएफ) विधिबाट तिम्ल्याहा छोरा पाएकी हुन् ।

नर्भिकको आइभीएफ सेन्टरको प्रमुख रहेकी डा नुतन शर्माले करीव १० वर्ष निसन्तानको समस्यामा परेका एक दम्पत्तीले अन्तत आइभीएफ विधिबाट तीन जना छोरा प्राप्त गर्न सफल भएको बताइन । उनले आज जन्मेका शिशुहरुको तौल १.८, १.७ र १.५ केजी रहेको जानकारी दिईन ।

‘आइभीएफ विधिबाट प्राय दुईवटा शिशुहरु जन्मिने गर्दछन् । कहिले काँही तीनवटा पनि जन्माउन सकिन्छ । तर यो आफैमा भने जटिल विधि पनि हो । खासगरी गर्भ खेर जाने समस्या हुनसक्छ । हामीले विशेष स्वास्थ्य निगरानीबाट स्वस्थ रुपमा शिशुहरु जन्माउन सफल भयौँ,’ उनले भनिन् ।

पेटमा धेरै शिशु हुँदा पुरा अवधी राख्न पनि समस्या हुने डा शर्माले बताइन । यी तीन वटा शिशु ३५ हप्ताका हुन् ।

‘सामान्य त हामीले ३७ हप्ता पछि जन्मनेलाई नर्मल मान्दछौँ । तर यो तीनजना भएकोले केही छिटो निकाल्नु प र्‍यो,’ उनले भनिन् ।

डा. शर्माले आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा तिम्ल्याहा शिशु काखमा लिएको फोटो राख्दै भनेकी छन्, ‘नयाँ वर्षको गज्जव सुरुवात !’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *