जापानमा पनि भेटियो नयाँ भेरिएन्ट ओमिक्रोन

टोकियो, १४ मंसिर । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ।

जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन। गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्।

अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो।

त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ। यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरी त्रास छाएको छ।

कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन भने कतिपयले लापरवाही गरेकाले उनीरुका देशमा पनि भित्रिएको छ। जापानमा भने सतर्कता अपनाउदा अपनाउदै पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ।

टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो। जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ। यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउदै लगिने तयारी भएको थियो।

कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडारुपमा उभिने छ, प्रधानमन्त्री किशिदाले भने।

उनले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ।

जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो।

अहिले पनि नयाँ भेरियन्ट ओमिक्रोन थप फैलिन नदिन र ठूलो मानवीय क्षति हुन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेको छ।

सङ्गठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने चेतावनी पनि दिएको छ।

नयाँ भेरिएन्ट अफ्रिकी मुलुक बाहेक बेलायत, क्यानाडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डलगायत थुप्रै देशमा पनि देखिइसकेको डब्लुएचओले जनाएको छ।

नयाँ भेरिएन्ट पुष्टि भएपछि अमेरिका, बेलायत, युरोपेली सङ्घलगायत दर्जनौ देशले दक्षिण अफ्रिकी देशका नागरिकलाई आफ्नो देश आउन नदिने निर्णय गरिसकेका छन्।

अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ भने अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र कामदारलाई डिसेम्बर १५ तारिखसम्मका लागि जान नपाइने गराइएको छ।

अमेरिका, बेलायतलगायतका देशमा ओमिक्रोनको सङ्क्रमण न्युनिकरण गर्न थोरै भएपनि सहयोग हुने विश्वासका साथ १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा दिन थालिएको छ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले त घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गरेका छन्। तर लकडाउन लगाउने की नलगाउने भन्ने बारेमा भने स्पष्ट पारेका छैनन्।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *