चिकित्सा शिक्षा आयोगले नयाँ शुल्क निर्धारणका लागि सिफारिस गर्न बनायो कार्यदल, सरोकारवालासंग सुझाव माग
काठमाडौँ, २ मंसिर ।चिकित्सा शिक्षा तर्फका विभिन्न कार्यक्रम अध्ययन गराउने संस्थाहरुले शिक्षण शुल्कको समायोजन गर्नुपर्ने माग राखेकै बेला चिकित्सा शिक्षा आयोगले प्राडा रमेश आचार्यको संयोजकत्वमा ११ सदस्यीय शुल्क निर्धारण सिफारिस कार्यदल गठन गरेको छ ।
उक्त कार्यदलले सात दिन भित्र आयोग समक्ष शुल्क सिफारिस गर्ने बताइएको छ ।
कार्यदलका आयोगका निर्देशक डा दिलिप शर्मा, शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी, अर्थ मन्त्रालयका सहसचिव, विश्व विद्यालय अनुदान आयोगका प्रतिनिधि सदस्य रहेका छन् ।
यस्तै निजी मेडिकल कलेजका तर्फबाट नेपालगञ्ज मेडिकल कलेजका डा सुरेश कनोडिया, कलेज अफ मेडिकल साइन्सेज भरतपुरका भी नटराज प्रसाद, चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाई, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्राध्यापक तक्मा केसी र आयोगका सदस्य सचिव भोजराज काफ्ले रहेका छन् ।
यसैबीच कार्यदलले सरोकारवाला व्यक्ति तथा संस्थासंग आगामी ७ मंसिर भित्र विभिन्न कार्यक्रममा लाग्ने शुल्कका विषयमा राय सुझाव तथा परामर्श दिन समेत अनुरोध गरेको छ । ‘बैज्ञानिक ढंगले शुल्क गर्नु पर्ने भएको र निर्धारण सिफारिस कार्यदलले सरोकारवाला व्यक्तिहरुबाट आउने सुझावको समेत अध्ययन गरी नयाँ शुल्कको लागि सिफारिस गर्ने योजना रहेको छ,’ सदस्य रहेका डा दिलिप शर्माले भने । उनले अहिले निर्धारण गरिने शुल्क अब आउने नयाँ शैक्षिक कार्यक्रमका लागि तय गरिने समेत स्पष्ट पारे ।
आयोगले अण्डर ग्राजुएट्स, पोष्ट ग्राजुएट्स, डीएम एमसीएच तहका कार्यक्रमहरुको नयाँ शिक्षण शुल्क सिफारिस गर्न लागेको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



