औषधि मूल्य अनुगमन समितिको बिहीबारको बैठकमा ठोस निस्कर्ष निस्केन, मंगलबार पुन: बैठक बस्दै

काठमाडौँ, १० भदौ । औषधि मूल्य अनुगमन समितिको बैठक आगामी मंगलबार पुन: बस्ने भएको छ । औषधिको खुद्रा मूल्य संसोधन गर्ने लगायतका तीन बुँदे प्रस्तावमा विहीबारको बैठकले ठोस निर्णय लिन नसकेपछि मंगलबार पुन: बैठक बस्ने भएको हो ।

विहीबार दिउसो साढे १ बजे देखि करीव तीन घण्टा औषधि व्यवस्था विभागमा समितिको बैठक बसेको थियो ।

विभागका महानिर्देशक भरत भट्टराईको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकारले विभिन्न मितिमा विभिन्न प्रकारका औषधिहरुको तोकिएको खुद्रा मूल्यमा समयसापेक्ष परिमार्जन संसोधन, मूल्य निर्धारण सम्वन्धी कार्यविधि र मूल्य निर्धारण नभएका औषधिहरुको मूल्य निर्धारणका सम्वन्धमा गरी तीन प्रस्ताव पेश गरिएको थियो ।

‘औषधिको मूल्य समायोजनका विषयमा गहन छलफल भयो । बैठकमा सहभागी भएका सबै प्रतिनिधिहरुले आ आफ्ना कुरा राख्नुभयो । तर ठोस निस्कर्ष निस्कन सकेन । त्यसैले मंगलबार पुन: बैठक बस्ने गरी आज टुंगियो,’ नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधि सम्वन्धी देखापरेका विद्यमान समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरेको बताए । ‘हामी औषधि उत्पादक, व्यवसायीका आफ्नै दुख व्यथा छन्, ती कुराहरु सुनाउन र समाधानका उपायहरु के हुनसक्छन् भनेर सामान्य छलफल भयो,’ उनले भने ।

आजको बैठकमा उपभोक्ता जागरण तथा हित संरक्षण मञ्च र नेपाल औषधि आयातकर्ता संघको सहभागिता नभएको बुझिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *