‘कोरोनाको लागि छुट्याएको दुईवटा अस्पतालकै बेड भरियो’

 

डा. प्रकाश थापा, मेडिकल सुपरीटेन्डेन्ट भेरी अस्पताल

अहिले भेरी अस्पतालमा कोरोना बिरामीको उपचार कसरी भइरहेको छ ? अवस्था के छ ?
हामीले छुट्याएर राखेको १४२ वटा बेडहरु हो । ती सबै बेडहरु अहिले पूर्ण रुपमा भरिएको छ । अब त्यसमा थप्न सक्ने अवस्था पनि छैन् । हामी आफ्नो क्षमतामा अधिकतम पुगिसकेका छौँ ।

भर्ना भएकाहरुमा कस्तो अवस्थाको बिरामीहरु छन् ?
धेरै जसो अक्सिजन दिनुपर्ने बिरामीहरु छन् । लक्षण नभएका र साधारण विरामीलाई त हामी भर्ना नै लिदैनौं । चेक जाँच गरी औषधि दिएर घरमै पठाउँछौँ । होम आइसोलेसनमा बस्नुस भनेर ।

भर्ना भएका संक्रमित बिरामीमध्ये आइसीयू तथा भेन्टिलेटरमा कति हुनुहुन्छ ?
अहिले भेन्टिलेटरमा ५ जना हुनुहुन्छ । आइसीयूमा ४२ जना जति हुनुहुन्छ होला । बाँकी रहेका सबै लक्षण भएका र जटिल बिरामीहरु नै हुनुुहुन्छ । अलिकति ठिक हुने बित्तिकै त हामी घरमा पठाई हाल्छौँ । राख्ने अवस्था नै छैन् । बेड जति खाली गर्न सक्यो नयाँ बिरामीलाई बेड पाउन त्यति नै सहज हुन्छ । विहान दिउसो र बेलुका राउण्ड हुन्छ । त्यसमा ठिक्क अवस्थाको बिरामी भेटिने वित्तिकै हामीले घर पठाएर बेड खाली गर्ने गरेका छौँ ।

अरु अस्पतालमा छैन कोभिडका बिरामीलाई बेड ?
कोहलपुर मेडिकल कलेजमा पनि कोभिड बिरामीका लागि १०० बेड छुट्याएर राखेको हो । त्यहाँ पनि भरिभराउ भैसक्यो । त्यसैले बिरामी आउने र फोन आउने क्रम झन् झन् बढेको छ ।
अहिले हामीकहाँ र कोहलपुर मेडिकल कलेजमा मात्रै बिरामी राखिएको छ । ह्वाइटहाउसमा पोजेटिभ भएकाहरुलाई मात्रै राखिएको छ । त्यो आइसोलेसन सेन्टर हो । बिरामीलाई गाह्रो हुनासाथ त्यहाँ उपचार हुँदैन ।

अक्सिजनको व्यवस्थापन कस्तो छ ?
अहिले अक्सिजनको खपत अत्यधिक बढेको छ । कहिलेकाँही सप्लाईमा समस्या हुने गर्छ विद्युत नआउँदा खेरी । अक्सिजन उत्पादन हुने ठाँउमा रोकिने भयो । त्यसबेला हामीलाई निकै गाह्रो हुन्छ । त्यसो हुँदा माग अनुसारको आपूर्ति हुन सक्दैन । सप्लाईमा गडबढी हुँदा हिजो पनि दिउसो देखि रातीसम्म अक्सिजन व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो । धौ धौ गरेर म्यानेज चाही गरियो । दिनदिनै ठूलो संख्यामा नयाँ केश थपिदा साच्चिकै अफ्टेरो भएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीहरुलाई संक्रमण त देखिएको छैन ?
छ नि । हाम्रो भेरी अस्पतालमा मात्रै अहिले चिकित्सक नर्स तथा अरु स्टाफ गरी ३० जना संक्रमित भइसकेका छन् । अहिले अप्रेसन थिएटर बन्द भएको छ । तीन दिन जति भयो । ओटीमा काम गर्ने सतप्रतिशत नै संक्रमित भए । अरु ठाँउमा काम गर्ने पनि धेरै नै संक्रमित भइसकेका छन् । परीक्षण गराउने भने त अझ् धेरै पनि हुनसक्छन् । हामीले सेवा त दिनै परयो त्यसैले पनि कतिले टेष्ट नै नगरेर बसिरहेको अवस्था छ ।

जनशक्तिको पनि त समस्या होला नि ?
त्यो त भै नै हाल्छ । यति धेरै केश थपिएपछि त थेग्न गाह्रो छ ।

प्रदेश तथा केन्द्र सरकारसंग यसबारेमा कुराकानी त भएको होला नि ?
भैरहेको छ । प्रदेशबाट त कोरोनाका लागि भनेर पहिले नै जनशक्ति दिएको थियो । तर त्यतिले पुग्ने अवस्था छैन् । स्वास्थ्य मन्त्रालयलाई पनि यो कुरा जानकारी भएको छ ।

अन्तमा केही भन्न चाहनुहुन्छ कि ?
अन्य अस्पताललाई पनि कोरोनाको बिरामी राख्ने बाताबरण मिलाउनु परयो । सरकारी निजी गैरसरकारी अस्पताललाई लिनु परयो । स्थानीय तहमा पनि आइसोलेसन सेन्टरहरु बढाउनु परयो । सबैभन्दा ठूलो कुरा व्यक्ति स्वयं यसप्रति सचेत र जिम्मेवार बन्नुपरयो । संक्रमण हुन नदिनका लागि राज्यले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपरयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *