वीर अस्पतालमा ५ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौँ, ९ बैशाख । वीर अस्पतालमा ५ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्वास्थ्यकर्मीहरुले कोरोनाबिरुद्धको खोप लगाईसकेका हुन् ।

अस्पतालका कोभिड फोकल पर्सन डा अच्युत कार्कीले ५ जना चिकित्सकसहित केही नर्स र केही प्यारामेडिक्सहरुमा कोरोना संक्रमण देखिएको बताए । उनले यो तथ्यांक भने दोस्रो लहर सुरु भएयताको स्पष्ट पारे ।

पछिल्लो समय दोस्रो लहर जसरी बढ्न थाल्यो त्यस यताको तथ्यांक हो । विहीबारसम्म हाम्रा १५ जना स्टाफ संक्रमणमा पर्नुभएको छ । ‘सबै जनाले कोभिडविरुद्धको खोप लगाइसक्नु भएको हो । त्यसमध्ये ४ जना वीरमै उपचारका लागि भर्ना भएका, केही निको भएर काममा फर्किन थालिसकेको र केही होम आइसोलेसनमा बस्नु भएको छ,’ उनले भने ।

नेपालमा अहिले पनि कोभिडविरुद्धको खोप लगाएपछि कोरोना लाग्दैन वा सर्न सक्दैन भन्ने भ्रम धेरैमा छ । तर विज्ञहरुले त्यस्तो भ्रममा नपर्न आग्रह गरिरहेका छन् । उनीहरुले भनेका छन्, ‘कोभिडबिरुद्धको खोपले कोरोना नलाग्ने वा नसर्ने भन्ने होइन । यसले सिकिस्त पार्ने सम्भावनालाई घटाउने हो । ज्यानै जाने सम्भावना कम गर्ने हो । वीरमा पनि भएको त्यहि हो ।’

वीर अस्पतालको कोभिड आइसोलेसन सेन्टरमा अहिले ३३ जना कोरोना संक्रमित उपचारमा रहेको बताइएको छ । त्यसमध्ये ३ जना भेन्टिलेटरमा र ८ जना आइसीयूमा रहेको समेत डा कार्कीले जानकारी दिए ।

कोरोनाको दोस्रोलहरमा संक्रमण हुने क्रमले तिब्रता पाएपछि सरकारले वीर कै नयाँ सर्जिकल भवनमा समेत कोभिडको उपचार गर्ने तयारी थालेको छ ।

त्यहाँ शुरुमा २०० बेड र पछि १ हजार जना विरामी अटाउने गरी उपचारको व्यवस्था मिलाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *