चीनद्धारा ८ लाख डोज कोभिडबिरुद्धको खोप हस्तान्तरण

काठमाडौँ, १६ चैत । चीनले अनुदानमा उपलव्ध गराएको ८ लाख डोज कोभिडबिरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज विहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।

चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) खोप लिन नेपाल एयरलायन्सकै ए -३३० (वाइडबडी) विमान बेइजिङ गएको थियो ।

खोप प्राप्त गरेपछि बोल्दै स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना महामारीबिरुद्धको लडाईमा चीनले गरेको यो सहयोग महत्वपूर्ण हुने बताए । उनले मित्र बदल्न सकिने भएपनि छिमेकी बदल्न नसकिने भन्दै चीनले देखाएको सदासयतालाई भुल्न नसकिने बताए । उनले चिनियाँ सरकार र चिनियाँ जनतालाई समेत धन्यवाद दिए ।

चिनियाँ राजदूत यान्छीले महामारीको यो चपेटामा चिनियाँ सरकार चिनियाँ जनताको तर्फबाट नेपाली जनताको लागि उपहार पठाएको बताइन । उनले सिनोफार्मबाट उत्पादित यो खोप नेपाल सहित विश्वका ८० देशमा अनुदान सहित उपलव्ध गराएको र ४३ देशमा निर्यात गरिएको जानकारी दिइन । सो अवसरमा उनले यो खोप ८० प्रतिशत बढी प्रभावकारी रहेको समेत बताइन ।  यान्छीले चीन नेपाल रणनीतिक सम्वन्धमा यो कार्यले थप टेवा पुगेको समेत धारणा राखिन ।

नेपाल बायुसेवा निगमको वाइड बडी विमान विहान ६ ४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

यो खोप अव स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखामा रहेको गोदाम लगेर भण्डारण गरिनेछ । यो खोप कसलाई कहिले देखि शुरु गर्ने भन्ने बारेमा भने सरकारले केही दिनमा निर्णय गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *