पीजी पढ्नका लागि झुटो विवरण भरेका थप ३६ जना चिकित्सकलाई मेरिट लिष्टबाट हटाइयो

काठमाडौँ, ४ फागुन । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर(पीजी) को एकीकृत प्रवेश परीक्षामा खुल्ला तर्फ उत्तीर्ण भएका थप ३६ जना चिकित्सक परीक्षार्थीलाई मेरिट लिष्टबाट हटाएको छ ।

आर्थिक वर्ष २०७६/ ७७को शैक्षिक सत्रको परीक्षामा दुर्गम क्षेत्रमा काम गरेको भनी झुटो विवरण पेश गरि अंक प्राप्त गरेको पाइएकाले उनीहरुलाई मेरिट लिष्टबाट हटाइएको आयोगले जनाएको छ ।

यसअघि आयोगले सरकारी कोटा तर्फका १३ जना चिकित्सकको पनि झुटो विवरण पेश गरेको भन्दै मेरिट लिष्टबाट हटाएको थियो ।

आयोगका सदस्यसचिव डिल्लीराम लुईटेलले मेरिट लिष्टबाट हटाइएका ३६ जना चिकित्सकले ख बर्गको जिल्लामा काम गरे पनि नम्बर धेरै पाईने लोभले क बर्ग अर्थात अति दुर्गम जिल्लामा काम गरेको भनि विवरण भरेको बताए । उनले केही विद्यार्थीले त दुर्गममा काम नै नगरी फेक विवरण भरेको समेत पाइएको जानकारी दिए ।

‘आजबाट ओपन काउन्सिलिङ चलेको छ । यो पाँच दिन सम्म चल्नेछ । यसमा उजुरी तथा आयोगले शंका लागि छानवीन गर्दा झुटो विवरण पेश गरेको पाइएको हो,’ सदस्यसचिव लुइटेलले भने ।

आज मेरिट लिष्टबाट हटनेमध्ये ३३ जना एमडीएमएस र ३ जना एमडीएसका लागि उत्तीर्ण चिकित्सक थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *