वीर अस्पतालको ‘दुवाकोट प्रोजेक्ट’लाई तत्काल अघि बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २८ माघ । अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा बन्ने वीर अस्पतालको नयाँ भवनका लागि आवश्यक पूर्वाधार तत्काल निर्माण शुरु गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । मंगलबार निर्माणस्थलको निरीक्षणमा गएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

निरीक्षणका लागि अर्थमन्त्री पौडेलसंगै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावतलगायतको टोली, अर्थ सचिव शिशिर ढुंगाना, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, नेपाल विद्युत प्राधिकरणका सीईओ हितेन्द्रदेव शाक्य, खानेपानी तथा ढल विभाग, सडक विभागसहितका विभिन्न निकायका प्रमुखहरु गएका थिए ।

सो क्रममा मन्त्री पौडेलले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निर्माणस्थलसम्म विद्युत्को खम्बा विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिए । उनले सडक विभागका प्रतिनिधिलाई मनोहरा करिडोर हुँदै दुवाकोट आउने सडक र सल्लाघारी हुँदै निर्माणस्थलसम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर सबै काम गर्न निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले भने, “कुनै पनि बाहनामा अब यहाँको काम रोकिनु हुन्न, पैसाको चिन्ता नगर्नुहोस्, जग्गा हामीले पाइसकेका छौँ, अब तत्काल पूर्वाधार निर्माण गर्नुहोस् ।”

स्वास्थ्य मन्त्री त्रिपाठीले सो अस्पताल दुवाकोटमा बन्नु भक्तपुरवासीको गौरवको विषय भएको बताउँदै यसलाई छिटो निर्माण गरेर काम पूरा गर्न सबै लाग्नुपर्ने बताए । स्वास्थ्य राज्यमन्त्री रावतले आफू विगतदेखि भक्तपुरमा अस्पताल बनाउने काममा सक्रिय हुँदै आएको र स्वास्थ्यमन्त्रीले यसको जिम्मेवारी दिनुभएको जानकारी दिए ।

अर्थमन्त्रीलाई प्राधिकरणका कार्यकारी प्रमुख शाक्यले चालू आवभित्र आफ्नो पक्षको काम सक्ने बताए । चाँगुनारायणका नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अस्पताल निर्माण क्षेत्रको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

नगरप्रमुख मिश्रले विभिन्न निकायबीच समन्यवको अभाव हुँदा लामो समयदेखि अस्पताल निर्माण कार्यको थलानी हुन नसकेको बताउँदै यथाशीघ्र्र्र भवन निर्माणका काम अगाडि बढाउनुपर्ने बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ मा करिब ५७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भए पनि डिपिआर तयार हुन नसक्दा काम अगाडि बढ्न सकेको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *