कोरोनाबिरुद्धको खोप : भारतबाट भुटान र मालदिव्समा आजै पुग्दै, नेपालमा भोलि आउने

कोभिसिल्ड खोप भुटान पठाउन लोड हुँदै

काठमाडौँ, ७ माघ । भारतले आफ्नो छिमेकी देश भुटान र मालदिव्सलाई कोरोनाबिरुद्धको खोप आजै पठाउने भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादन भइरहेको खोप कोभिसिल्ड भुटानलाई १ लाख ५० हजार डोज र मालदिव्सलाई १ लाख डोज खोप पठाउन लागेको हो ।

‘भुटानको थिम्पुमा र मालदिव्सको मालेमा उल्लेखित परिमाण अनुसारको खोप बुधबार नै पुग्नेछ । भारतको अनुदान सहयोगमा कोरोनाबिरुद्धको खोप पाउने यी दुई देश सार्कमै पहिलो हुने भएका छन्,’  द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । उसले आफ्नो खबरमा नेपाल, बंगलादेश, म्यानमार लगायतका देशहरुमा विहीबारसम्म खोप पुग्ने उल्लेख गरेको छ । यी देशहरुमा कति मात्रामा खोप पठाउँदै छ भन्ने भने उल्लेख गरिएको छैन् ।

नेपालले कति खोप पाउँदै छ भन्ने बारे जानकारी दिन बुधबार दिउसो दुई बजे स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिदैछ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा समेत सहभागी हुने पत्रकार सम्मेलनमा खोप कति परिमाणमा उपलव्ध हुने भन्नेबारेमा जानकारी दिइने बताइएको छ ।

मन्त्रालयका अधिकारीहरुले पहिलो चरणमा करीब तीन प्रतिशत जनसंख्याका लागि पुग्ने गरी खोप उपलव्ध गराउन सक्ने बताएका छन् । उनीहरुले आज करीब १० लाख डोज खोपको घोषणा हुनसक्ने उल्लेख गरेका छन् ।

बिहीबार काठमाडौँ आइपुग्ने खोप सिरम इन्स्टिच्युटमा तयार भएको कोभिसिल्ड हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *