नेपालमा कोरोनाबिरुद्धको खोप २६ जनवरी अगावै ल्याउने तयारी

काठमाडौँ, ६ माघ । नेपालमा कोरोनाबिरुद्धको खोप २६ जनवरी अगावै आउने सम्भावना बढेको छ । भारत सरकारले २६ जनवरी अर्थात आफ्नो गणतन्त्र दिवसको दिन पारेर केही परिमाण खोप नेपाल सरकारलाई हस्तान्तरण योजना बनाएको बुझिएको छ । त्यसका लागि काठमाडौँस्थित भारतीय दुतावास सक्रिय रहेको छ ।

केही दिन अघि भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भएको बार्तामा खोपलाई प्राथमिकतामा राखिएको थियो । सोही अनुसार भारतीय पक्षले पहिलो लटमा अनुदान स्वरुप केही मात्रामा खोप उपलव्ध गराउन लागेको हो ।

‘पहिलो लटमा भारतले अनुदानमै खोप उपलव्ध गराउने सम्भावना छ । कति मात्रा आउँछ, कुन दिन आउँछ भन्ने एकीन भैसकेको छैन् तर २६ जनवरी अगावै नेपालमा खोप आउने र २६ जनवरीको दिन अर्थात आफ्नो गणतन्त्र दिवसको दिन पारेर नेपाललाई खोप हस्तान्तरण गर्ने योजना रहेको छ । त्यसका लागि नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रा लागि परेका छन्,’ दुतावास स्रोतले भन्यो ।

यसअघि भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवाली, उनको टोलीमा रहेका स्वास्थ्य सचिव लक्ष्मण अर्याल र नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले खोपका लागि भारत सकारात्मक रहेको र नेपाललाई छिटै उपलव्ध गराउने बताउँदै आएका थिए । स्वास्थ्य सचिव अर्यालले खोप फागुन अगावै आइपुग्ने संकेत गरेका थिए ।

परराष्ट्रमन्त्रीको टोली भारत रहेकै बेला औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप कोभिशिल्डलाई आपतकालिन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको थियो ।

गत आइतबार भारतीय सञ्चारमाध्यमले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो साता नेपालका लागि कोरोनाबिरुद्धको खोप उपलव्ध गराउने घोषणा गर्ने  समाचार प्रकाशित गरेका थिए ।  उनीहरुले भारतमा उत्पादन भइरहेका र आफूहरुले प्रयोग गरेका दुईवटै खोप नेपाल सरकारलाई उपलव्ध गराउन लागेको र नेपाल भारतमा उत्पादित खोप पाउने पहिलो राष्ट्र बन्ने समेत दावी गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले खोप आउनु अगावै गर्नुपर्ने आवश्यक तयारीलाई तिब्रता दिइसकेको छ । उसले केही दिनमै तालिम र कोभिडविरुद्धको खोप सम्वन्धी ड्राईरन गर्ने समेत योजना बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *