बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौँ, ३ माघ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ ।

यसक्रममा प्रतिष्ठानले बाजुराको बूढीनन्दा नगरपालिकाद्वारा सञ्चालित कोल्टी स्वास्थ्य चौकीमा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउने छ । यससम्बन्धी द्विपक्षीय सम्झौतामा प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्ले र नगरप्रमुख पद्मकुमार गिरीले शुक्रबार कोल्टीमा हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानको ऐनअनुसार आफ्नो सेवा क्षेत्रका जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्न विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । उनका अनुसार सो सम्झौता सो १० शय्याको स्वास्थ्य चौकीका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको समन्वयमा प्रतिष्ठानले उपलब्ध गराउने छ ।

हुम्ला र मुगु जिल्लाका बिरामीसमेत आउने सो स्वास्थ्य चौकीमा आवश्यक चिकित्सक नहुँदा वर्षौदेखि सेवाग्राही समस्यामा रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा वाग्लेले कर्णाली प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउनु प्रतिष्ठानको मुख्य ध्येय रहेको बताए । उनले भने “प्रतिष्ठानले एमबीबीएस तहको अध्ययन अध्यापन गराउन अन्तिम तयारी गर्दैछ । यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ । ”

नगरप्रमुख गिरीले प्रतिष्ठानले नगरपालिकामा सेवा विस्तार गरेकोमा धन्यवाद दिए । कार्यक्रममा प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईँ, प्राडा दिनेश बास्तोला, डा सूर्यमान लिम्बू र डा निराजन महासेठको पनि सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *