राष्ट्रिय स्वास्थ्यकर्मी संघमा ओली समूह हावी ?

काठमाडौँ, २८ पुस । पार्टीमा बिग्रह देखा पर्दा नेकपा निकट मानिने स्वास्थ्यकर्मीहरुको पेशागत संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघमा पनि समस्या पैदा भएको छ । यतिवेला संगठनका पदाधिकारी तथा सदस्यहरु दुई समूहमा बाढिएका छन् । यद्धपी दुबै समूहका संगठनले अहिलेसम्म एक रहेको बताएका छन् ।

संघका अध्यक्ष भक्तिमान सुब्बाले बदलिदो परिस्थितिमा स्वास्थ्यकर्मीहरु नेकपा भित्र स्वतन्त्र रुपमा आफ्ना बिचार राख्न र नेता छान्न स्वतन्त्र भएको बताए । ‘यो मुलत पेशागत संगठन हो । यसले स्वास्थ्यकर्मीका पेशागत मुद्धालाई प्राथमिकताका राखेको हुन्छ । तर राजनीतिक दल निकट भएको हुनाले पार्टीको गतिविधिलाई पनि हेर्ने गर्छ । अहिले पार्टीमा आएको विग्रहलाई हामीले नजिकबाट निहालेका छौँ,’ उनले भने ।

सुब्बा नेकपा भित्र माधव नेपाल निकट मानिन्छन् । गत साता मदनभण्डारी कलेजमा भएको ओली निकट स्वास्थ्यकर्मीहरुको भेलामा उनी देखिएका थिएनन् ।

यता ओली निकट मानिने रामहरि ढकालले राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आफूहरुको समूह बलियो भएको बताए । ‘यो तत्कालिन एमाले निकट मानिने स्वास्थ्यकर्मीहरुको पेशागत संगठन हो । अहिले पार्टीमा विग्रह आउँदा अधिकांश वा भनौँ करीव ७० प्रतिशत पदाधिकारी र सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गर्नेहरु छन्,’ उनले भने ।

को कता ?

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूह र प्रचण्ड माधव नेपाल समूहमा विभाजित देखिएपछि त्यसको असर राष्ट्रिय स्वास्थ्यकर्मी संघ पनि देखिएको छ । अहिले संघका पदाधिकारी तथा सदस्यहरु दुई समूहमा खुलेर लाग्न थालेका छन् ।

व्यक्तिगत रुपमा ओलीलाई राम्रो मान्ने बताउने संघका अध्यक्ष सुब्बा संसद भग गर्ने कदमलाई असंवैधानिक भनेका छन् । उनी संघ भित्र अहिले प्रचण्ड माधव समूह रहेको बताइन्छ । यस्तै बरिष्ठ उपाध्यक्ष डा कृष्ण गोपाल महर्जन पनि अहिले ओलीको कदमको खुलेर विरोध गर्ने गरेका छन् । यस अर्थमा उनी पनि प्रचण्ड माधव समूहमा खुलेर लागेको थाह पाउन सकिन्छ । यस्तै उपाध्यक्ष राधा सिलवाल, उपमहासचिव विष्णु फुयाल र सचिव राम विनोद यादव नेकपा भित्र प्रचण्ड माधव निकट मानिन्छन् ।

ओली समूहमा उपाध्यक्ष जगत नेपाली, बैझनाथ झा, केदार पराजुली, यस्तै प्रदेश नं १ इन्चार्ज समेत रहेका उपाध्यक्ष तुलसी गुरागाई, प्रदेश नं २ का इन्चार्ज  अंबारुल हक, बागमती प्रदेशका इन्चार्ज समेत रहेका उपाध्यक्ष रामहरि ढकाल, गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका उपाध्यक्ष त्रिलोक गुरुङ, लुम्बिनी प्रदेशका इन्चार्ज समेत रहेका उपाध्यक्ष रामबहादुर चन्द र कर्णाली प्रदेशका इन्चार्ज भीमराज सिंह देखिएका छन् ।

यस्तै महासचिव डा झलक गौतम, सचिव मदन ओली,  हिमालय तिवारी, कोषाध्यक्ष ईश्वरी ढकाल र सहकोषाध्यक्ष अञ्जु बस्नेत पनि ओली समूहमा रहेको बुझिएको छ ।

उपाध्यक्ष तारा तामाङ, उपमहासचिव जयराम दवाडी, सचिव शारदा खनाल र डा सन्तोष पौडेल अहिले खुलि नसकेको बताइएको छ ।

अध्यक्ष सुब्बा जसले जसलाई मानेपनि अहिलेसम्म सबै नेकपाकै रहेको भन्दै एक अर्कामा आरोपप्रत्यारोपमा नउत्रन आफूले आग्रह गरिरहेको बताए । हाम्रो मुख्य ध्यय स्वास्थ्यकर्मीहरुको हकहित नै हो । गलत गर्दा पार्टी विरुद्ध नै आन्दोलनमा पनि उत्रिन्छौँ । त्यसैले अहिलेको अवस्थालाई अझ केही छिन हेरेर आवश्यक निर्णय लिने उनले बताए । नयाँ परिस्थितिपछि संघको बैठक नबसेको तर सचिवालयको अनौपचारिक बैठक बसेको समेत उनले बताए ।

उपाध्यक्ष ढकालले संघ तत्कालिन नेकपा एमाले पार्टी नजिक भएको र नवौँ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएको, पछि पार्टी एकीकरण भएपनि आफ्नो संगठन एकीकरण भइनसकेकोले अहिले आफूहरुले ओली समूहलाई अध्यक्ष मानेको बताए । उनले पछिल्लो परिस्थितिमा सचिवालय बैठक बसेको र अब केन्द्रीय कमिटीको बैठक पनि छिटै बस्ने योजना बनाएको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *