स्वास्थ्यका २३ वटा संगठनले माइतीघरमा धर्ना दिंदै

काठमाडौँ, १२ पुस । आफ्ना माग पुरा नभएको भन्दै स्वास्थ्य सेवामा क्रियाशिल २३ वटा ट्रेड युनियन तथा पेशागत संगठनले आज माइतीघर मण्डलामा धर्ना दिने भएका छन् । उनीहरुले विहान ११ बजे देखि १२ : ३० बजेसम्म डेढ घण्टा धर्ना दिने भएका हुन् ।

उनीहरुले गत ७ मंसिरमा तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी आफ्ना मागका सम्वन्धमा १८ बुँदे ज्ञापन पत्र बुझाएका थिए । त्यसबेला माग पुरा गर्न तीन साताको अल्टिमेटम समेत दिएका थिए । तर दिइएको अवधी र त्यसपछिका समयमा समेत आफ्ना मागका सम्वन्धमा केही प्रगति नभएको भन्दै विरोध स्वरुप धर्नामा बस्न लागिएको बताएका छन् ।

२३ वटा संगठनमा नेपाल चिकित्सक संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायतका छन् । यस्तै नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएशन, नेपाल स्वास्थ्य प्राविधिक संघ, मेडिकल ल्यावोरेटरी एसोसिएशन अफ नेपाल लगायतका सगठनले समेत धर्नामा सहभागिता जनाउँदै छन् ।

तर, संयोग यस्तो परेको छ कि धर्नामा बस्ने संगठनले माग माग पेश गरेका स्वास्थ्य मन्त्री सरुवा भएर आजै अर्को मन्त्रालयमा जाँदैछन् भने स्वास्थ्यमा अर्को मन्त्रालयबाट सरुवा भएर आएका मन्त्रीले वहाली गर्दैछन् ।

मध्यान्न १२ बजे नयाँ स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको वहाली हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार स्वास्थ्य मन्त्री रहेका ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सरुवा गरी उनको ठाँउमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका हृदयेश त्रिपाठीलाई पठाएका थिए ।

मन्त्री ढकालले शनिबार ( हिजो) नै त्रिपाठीको लागि कुर्सी खाली गरिदिईसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *