अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोेप आइसीयूमा कार्यरत नर्सलाई
एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड – १९) विरुद्धको खोप लगाउने (मास भ्याक्सिनेशन) कार्यक्रम सुरु भएको छ । सोमबार एक अस्पतालमा कार्यरत आइसीयू नर्सलाई पहिलो डोजको खोप लगाएर ‘मास भ्याक्सिनेशन’ कार्यक्रम शुभारम्भ गरिएको हो ।
त्यसअघि अमेरिकी खाद्य तथा औषधिको नियामक निकाय युएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (युएसएफडीए) ले फाइजर-बायोटेकद्धारा तयार पारिएको कोरोना भाइरसको खोप प्रयोग गर्न सकिने गरी सरकारलाई सुझाव दिएको थियो ।
स्वास्थ्य अधिकारीहरुले सोमबार विहान ९ : २० बजे क्वीन्समा रहेको लङ आइसल्याण्ड जेवीस मेडिकल सेन्टरमा कार्यरत सान्ड्रा लिन्ड्सेलाई खोप लगाई अभियानको शुभारम्भ गरेका थिए । पहिलो खोप लगाउँदा टेलिभिजनहरुबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।
कोभिडबिरुद्धको खोप लगाएपछि लिन्ड्सेले आफूलाई अरु खोप भन्दा कुनै भिन्न अनुभव नभएको प्रतिक्रिया दिइन । उनले आफूजस्तै अन्य अग्रपंक्तिमा कार्यरत जनशक्तिलाई दिन आग्रह गरिन ।
अमेरिकामा कोरोनाबाट अहिलेसम्म ३ लाख बढीको ज्यान गएको छ । यस्तै कोभिड १९ अस्पतालमा भर्ना भई उपचार गर्नेको संख्या सोमबार १ लाख १० हजार ५४९ रहेको छ ।
अमेरिकामा अहिलेसम्म १ करोड ६९ लाख ४२ हजार ८२२ जनामा कोरोना संक्रमण देखिएको छ ।
सम्पर्क इमेल : [email protected]