होम आइसोलेसनमा बसेका कोरोना संक्रमित बृद्धको मृत्यु

पाल्पा, २६ मंसिर । कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका पूर्वखोला  गाँउपालिका – ६ हेक्लाङका ८७ बर्षिय पुरुषको मृत्यु भएको छ । गत २२ मंसिरमा कोरोना पुष्टि भएका उनको विहीबार राती घरमै मृत्यु भएको हो ।

ज्वरो आएपछि परिवारले गत २१ मंसिरमा लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगेको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनी स्वइच्छाका साथ होम आइसोलेसनमा बस्ने गरि फर्केका थिए ।

‘दुई तीन दिन त स्वास्थ्य अवस्था ठिकै थियो । तर हिजो एक्कासी व्यथाले च्यापेछ । र आकस्मिक निधन भयो,’ पूर्वखोला गाँउपालिकाका सूचना अधिकारी सीअहेव मोहन ढकालले भने ।

मृतकको शव शुक्रबार तानसेनस्थित गोरखदल गणबाट आएका नेपाल सेनाका अधिकारीहरुले गाँउपालिकाले तयार गरेको कोभिड पार्कमा लगेर व्यवस्थापन गरेका थिए ।

१० बेडको कोभिड अस्पतालमा लक्षण भएका बिरामी, अहेवको भरमा
संक्रमित बढ्दै गएपछि अहिले पूर्वखोला गाँउपालिकाले रिङ्नेरह बिर्ताबजारमा १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा अहिले पनि लक्षण भएका ७ जना बढी बिरामी उपचाररत छन् । तर उपचार गर्न चिकित्सक भने छैनन् । सीअहेवको नेतृत्वमा खटिएका स्वास्थ्यकर्मीहरुले हेरिरहेका छन् ।

‘स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार नै हामीले ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्यायौँ । पछि बिरामी बढेपछि त्यसलाई १० बेड बनाइयो । र डाक्टर राख्नका लागि विज्ञापन पनि मागियो । तर एक जना पनि डाक्टर उपलव्ध हुन सकेको छैन् । डाक्टर नहुँदा जोखिमयुक्त बिरामीलाई हामीले नै हेर्नु परेको छ,’ सीअहेव ढकालले भने ।

गाँउपालिकाका सूचना अधिकृत समेत रहेका उनले छिटो भन्दा छिटो डाक्टर ल्याउने प्रक्रियामा आफुहरु रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *