फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन


वासिङ्टन, २६ मंसिर । अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ ।

संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । यहाँ विगत ४८ घण्टाको अवधिमा मा ६ हजार भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो मृत्युदर बढेसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या तीन लाखको हाराहारी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

उत्तरी गोलाद्र्धका मुलुकहरुमा चिसो बढेर कोरोना संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको ठानिएको बेलायतमा यसै साता फाइजरको खोपलाई स्वीकृत गरी आमरुपमा खोप लगाउन थालिएको छ ।

क्यानडा, बहराइन र साउदी अरेबियाले पनि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरिसकेका छन् ।

युरोपेली युनियनका मुलुकहरुले पनि फाइजर समेतका कम्पनीका खोपलाई स्वीकृत गर्ने बारेमा छलफल गरिरहेका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले आयोजना गरेको विज्ञहरुको बैठकमा १७ जनाले फाइजरको खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा र एक जना अनुपस्थित रहेका थिए ।

यद्यपी यो मतदान बाध्यकारी भने छैन, तर आपतकालीन प्रयोगको बाटो खोल्न यो मतदानले विशेष महत्व राख्नेछ ।

न्यू इङ्ल्यान्ड मेडिसिन जर्नलले फाइजरको खोप लगाएका करिब ४४ हजार व्यक्तिमाथि गरिएको क्लिनिकल परीक्षणको पूर्ण विवरण प्रकाशन गरेको छ जसले फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको र खोप लगाउने व्यक्तिमा कुनै गम्भीर शारीरिक असर नदेखिएको जनाएको छ ।

जर्नलको सम्पादकीयमा फाइजरको खोपको नतिजा कोभिड–१९ विरुद्ध ठूलो विजय हो भनिएको छ ।

कोरोनाभाइरस महामारीबाट विश्वभर १५ लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकाले यसै डिसेम्बर महिनाभित्र २ करोड मानिसलाई खोप लगाउने योजना अघि बढाएको छ जसमा केएर होममा रहेका व्यक्ति र स्वास्थ्यकर्मीहरु पहिलो प्राथमिकतामा छन् । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *