‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पीसीआर रिपोर्ट पनि विश्वसनीय भएन !’

काठमाडौँ, २५ मंसिर । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोभिड – १९ रिपोर्ट नेगेटिभ आएपछि हङकङ उडेका पाँच जना यात्रुको त्यहाँको विमानस्थलमा पुन परीक्षण गर्दा भने रिपोर्ट पोजेटिभ आएको छ ।

कोभिड संक्रमित यात्रु बोकेको भन्दै त्यहाँको सिभिल एभिएसनले गत १५ मंसिर देखि नै नेपालको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई पुन दुई साताको उडान प्रतिवन्ध लगाएको छ ।

यसअघि पनि यात्रुमा कोभिड १९ पोजेटिभ देखिएको भन्दै हङकङले नेपाल एयरलाइन्सले तीन पटक उडान प्रतिवन्ध लगाइसकेको थियो । नेपाल एरयलाइन्सको १५ मंसिरको उडान तेस्रो पटक उडान प्रतिवन्ध पछिको पहिलो दिन थियो ।

‘तेस्रो पटकको उडान प्रतिवन्ध पछि पहिलो उडान गर्दै थियौँ, विमानमा २५१ यात्रु सवार थिए । विमानबाट ओर्लिएका यात्रुको त्यहाँको विमानस्थलमा पुन परीक्षण भयो । सो क्रममा ५ जना यात्रुमा कोभिड १९ पोजेटिभ देखियो । एक जनाको रिपोर्ट शंकास्पद आयो । त्यसपछि पुन दुई साताको प्रतिवन्ध लाग्यो । यसले हामीलाई आर्थिक क्षति र एयरलाइन्सको ख्यातीमा गम्भीर असर पारेको छ,’ नेपाल एयरलायन्सका सहप्रवक्ता सुलेख मिश्रले भने । उनले यसबारेमा स्वास्थ्य मन्त्रालयलाई उही दिन जानकारी गराएको समेत बताए ।

यसअघि हवाई यात्रुको पीसीआर परीक्षण निजी प्रयोगशाला गर्न पाउथे । तर नेपाल एयरलाइन्समार्फत हङकङ सहित अन्य केही मुलुकमा पुगेका यात्रुको पुन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई यात्रुको पीसीआर परीक्षण सरकारी प्रयोगशालामा मात्रै गर्ने निर्णय गरेको थियो । तर हङकङको घटनाले सरकारी प्रयोगशालाको विश्वसनीयतामा समेत प्रश्न उव्जाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हङकङ पुन: प्रतिवन्धमा परेको भन्ने बारेमा आफूलाई सामान्य जानकारी मात्रै भएको बताए । ‘म उपत्यका बाहिर गएको थिएँ, भर्खरै आएको छु । नेपाल एयरलाइन्सबाट चिठी आएको भन्ने सुनेको छु, प्रयोगशालासग आवश्यक छलफल भएको होला । परीक्षण प्रक्रिया मिलेको नमिलेको भन्ने बारेमा आवश्यक कारवाही भएको होला,’ उनले भने ।

जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले हङकङको भएको घटनाबारेमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘हामीलाई कुनै जानकारी आएको छैन् । फेरी अलि अलि यस्ता केश त आइहाल्छ । किनभने, नमुना दिएपछि पनि संक्रमण हुनसक्छ, कोहीमा उइन्डो पिरियड पनि हुनसक्छ । अर्को कुरा हामीले नेगेटिभ आएकाहरुको हकमा एक महिना र पोजेटिभ आएकाहरुको हकमा ३ महिनासम्म नमूना स्टोर गरेरै राख्ने गरेका छौँ । त्यसैले गलत भएको नभएको हेर्न पनि सकिन्छ,’ उनले भने ।

यसअघि निजी प्रयोगशालामा परीक्षण गरि उडेका यात्रु हङकङमा पोजेटिभ देखिदा स्वास्थ्य मन्त्रालयले छानवीन गरेको थियो । उसले त्यसबेला देखिनै हवाई यात्रुको पीसीआर परीक्षण सरकारी ए लेभलको प्रयोगशालामा गर्ने निर्णय गरेको थियो । तर सरकारी प्रयोगशालाको पीसीआर रिपोर्टमा पनि समस्या उस्तै दोहोरिएपछि भने मन्त्रालय मौन देखिएको छ । नेपाल बायुसेवा निगमले भने हङकङ उडान प्रतिवन्धमा परेको भन्दै सूचना जारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *