रूसद्वारा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

मस्को २१ मंसिर । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । शनिबार मस्कोका ७० वटा क्लिनिकबाट कोभिड – १९ विरुद्धको खोप सेवा उपलव्ध गराउन थालेको हो ।

कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–भी खोपको प्रयोग भइरहेको छ ।

खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।

पहिलो चरणमा चिकित्सक नर्स तथा तथा अस्पतालका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, शिक्षक तथा सामाजिक अगुवाहरुलाई लगाइएको छ । उनीहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै खोपको प्राथमिकतामा परेका हुन् ।

दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन् ।

खोप लिन योग्य ठहर भएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत् आफ्नो नाम दर्ता गर्न पाउँछन्।

मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइराखिएको छ ।

पछिल्लो ३० दिनमा कुनै सुई लगाएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने उनले बताए । उनले दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोपको प्रारम्भिक अभियानमा सम्लग्न नगराइने जानकारी दिए ।

अहिलेसम्म २४ लाख ३१ हजार ७३१ जनामा संक्रमण देखिएको रुसमा शनिबार मात्रै २८ हजार ७८२ नयाँ केश थपिएका थिए । त्यसमध्ये मस्कोमा मात्रै ७ हजार ९९३ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म कोभिडकै कारण ४२ हजार ६८४ जनाको ज्यान गएको रुसमा पछिल्लो चौविस घण्टामा ५०८ जना कोभिड – १९ संक्रमितको ज्यान गएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *