कोरोना भाइरस ‘कुनै कुनै सतहमा २८ दिनसम्म बाँच्छ’

- नेपाली हेल्थ

बीबीसी । कोभिड- १९ रोग गराउने कोरोनाभाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्छ।

तर अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन्। परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ।

तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का प्रकट गरेका छन्।

यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ।

यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स-कोभ-२ भाइरस ब्याङ्क नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो। भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो। मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो।

तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ।

‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको सङ्क्रमणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुन्छ र मानिसहरूलाई जोगाउन सकिन्छ,’ उक्त निकायका प्रमुख कार्यकारी डा ल्यारी मार्शलले बताए।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले उक्त अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलने बताए।

‘सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन,’ प्राध्यापक एकल्ले भने।

‘ताजा म्युकस भनेको भाइरसको निम्ति जोखिमपूर्ण वातावरण नै हो। त्यसमा हुने श्वेत कोषले उत्पादन गर्ने इन्जाइमले भाइरसलाई मार्छ। साथै त्यसमा भएका एन्टीबडी तथा अन्य रसायनले पनि भाइरसलाई निस्क्रिय पारिदिन्छ।’

‘मेरो विचारमा सङ्क्रामक भाइरस सतहमा टाँसिएका म्युकसमा केवल केही घण्टा नकि दिन बाँच्न सक्छ।’

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन्।

‘महामारीको सुरुमा सतह वा निर्जीव वस्तुमार्फत् सङ्क्रमण सर्ने निकै त्रास थियो। तर अहिले हामीले यसको मुख्य कारण कुनै सतह छोएर अनि त्यसपछि आँखा छोएर सर्ने होइन रहेछ भन्ने थाहा पाएका छौँ। मुख्य कारण त थाहा नपाइकनै कसैले आफ्नो नाक वा मुखबाट निकालिरहेको भाइरसको नजिक पर्नु नै हो।’


Facebook Comment


थप समाचार