‘शिक्षक’ले चलाएको पीसीआर प्रयोगशाला !

काठमाडौँ, ७ भदौ । चीनमा कोरोना भाइरसको बिगबिगी भई नेपालमा छिरिसक्दा समेत बीएमएलटी वीपीएच र वी फार्मा बढाई हुने सानेपास्थित मोर्डन टेक्निकल कलेजका प्रिन्सिपल गोविन्द अकेलालाई कोरोनाविरुद्ध यसरी खटिनु पर्ला भन्ने लागेकै थिएन । त्यसैले उनले आफूकहाँबाट पासआउट भएका विद्यार्थीहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, भेरी अस्पतालको प्रयोगशाला, सेती अस्पतालको प्रयोगशाला तर्फ ‘स्वयंसेवीको रुपमा गएर सहयोग गर्नु’ भन्दै पठाएका थिए । तर, केही महिनाको अन्तरालमा परिस्थिति यसरी बदलियो कि अहिले आफ्ना ती ‘पासआउट’ भएका विद्यार्थी र ‘फ्याकल्टी’लाई परिचालन गरी आफ्नै नेतृत्वमा कलेज परिसरमा  प्रयोगशाला स्थापना गरी कोभिड – १९ को पीसीआर परीक्षणको थालनी गर्न पुगे ।

सानेपास्थित स्टार अस्पतालको एउटा ‘विङ्स’को रुपमा सञ्चालित मोर्डन टेक्निकल कलेज परिसरमा सञ्चालनमा ल्याइएको स्टार अस्पताल प्रयोगशालामा हिजोआज विहान साढे ६ बजे देखि राती ९ बजेसम्म पीसीआर परीक्षणका लागि नमूना दिन आउनेको भिड हुन्छ । अनि त्यहाँ खटिने जनशक्तिहरुले दिनरात नभनी काम गरिरहरेका हुन्छन् ।

‘यो त टिचरले चलाएको पीसीआर ल्याव हो,’ कलेजका प्रिन्सिपल तथा स्टार अस्पताल कोभिड -१९ प्रयोगशालाका ‘टिम लिडर’ अकेलाले पीसीआर परीक्षणबारे जानकारी लिदैँ गर्दा अगाडी थपे,’ स्टार अस्पतालले सञ्चालन गरेको यो टेक्निकल कलेजमा वीएमएलटी पढाई हुन्थ्यो । अहिले पढाई हुने अवस्था रहेन । त्यसैले हाम्रा फ्याकल्टी र पासआउट भएका विद्यार्थी भाईबहिनीहरुलाई नै परिचालन गरेका छौँ । यो कार्यमा यो कार्यमा उहाँहरु दिनरात नभनी अहोरात्र खटिनुभएको छ,’ उनले भने ।

कसरी शुरु भयो पीसीआर परीक्षण ?

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी प्रयोगशालाले मात्रै धान्न नसक्ने भयो । त्यसपछि सरकारले निश्चित दररेट तोकेर मापदण्ड पुगेका निजी प्रयोगशालालाई पनि सेवा गर्न दिने निर्णय गर्‍यो ।

‘हामी त त्यहि विषय पढाउने संस्था भयौँ । प्रर्याप्त जनशक्ति थियो । पूर्वाधार थियो । उपकरणहरु पनि थियो । नभएकाका उपकरणहरु ल्यायौँ । र हामीले ल्याव शुरु गर्ने निर्णयमा पुग्यौँ । गत १४ असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाइयो । स्वास्थ्य मन्त्रालयले २९ असारमा स्वीकृति दियो । त्यसपछि हामीले पीसीआर परीक्षण गर्न थालेका हौँ । निजी क्षेत्रबाट पीसीआर परीक्षणका लागि अनुमति पाउने हामी पहिलो प्रयोगशाला पनि हौँ,’ अकेलाले सुनाए ।

त्यसो त स्टार अस्पतालले परीक्षण अनुमति पाउनु अघि सगै रहेको टेक्निकल कलेजको परिसरमा प्रयोगालाको लागि छुट्टै पूर्वाधार र आवश्यक उपकरणको व्यवस्था गरेको थियो । सम्भावित संक्रमणलाई दृष्टिगत गरी आवश्यक सबै सुरक्षात्मक उपाय अपनाएको प्रयोगशालाले जनाएको छ ।

‘प्रयोगशालामा जानासाथ पहिले टोकन लिने, त्यसैको आधारमा पेमेन्टको लागि क्यास काउन्टरमा जाने, त्यसअघि नै आफ्नो विस्तृत विवरण सहितको भौचर भर्ने व्यवस्था छ । त्यसपछि स्याम्पल दिने व्यवस्था छ । ६ देखि १२ घण्टा रिपोर्ट आइसक्ने व्यवस्था मिलाइएको छ ।
स्पाम्पलहरु बारकोटबाट इन्ट्रि हुन्छ । अत्याधुनिक वायोसेफ्टी क्याविनेट, अटोमेटेड एक्सट्रयाक्सन मेसिन हुँदै अत्याधुनिक पीसीआर मेसिनहरुबाट जाँच हुन्छ । इन्फेक्सन कन्ट्रोललाई विशेष ध्यान दिइएको हुन्छ,’ इन्फेक्सन कन्ट्रोल युनिटका प्रमुख राजेशकुमार ठाकुरले भने ।

स्टार अस्पताल प्रयोगशालामा विदेश जानेहरु, कुटनीतिक नियोगका कर्मचारीहरु, विभिन्न कार्यालयका कर्मचारीहरु तथा अस्पतालमा भर्ना भई पीसीआर गराउनुपर्ने अवस्थाका बिरामीहरुको प्रतिकेश ५ हजार ५ सय जनाको दरमा परीक्षण भइरहेको छ ।

ल्यावरोटरी इन्चार्ज लक्षण पौडेलले दैनिक आठ सयसम्म परीक्षण गरिएको जानकारी दिए ।

प्रयोगशालामा काम गर्ने फ्याक्ल्टी तथा त्यहिबाट पासआउट भइसकेका विद्यार्थीहरुले महामारीकोबेलामा आफ्नो सिकाईलाई प्रयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । ‘कोरोना नियन्त्रणको हाम्रो अध्ययन् यतिवेला निकै काम लागेको छ । यसमा हामीलाई खुशी छ,’ उनीहरुले भने ।

अस्पतालले प्रयोगशालामा काम गर्ने जनशक्तिलाई आवासीय व्यवस्था मिलाएको छ । हामीले यहि क्वारेन्टिनको व्यवस्था गरेका छौँ । उहाँहरु चौविस घण्टा खट्नु भएको छ । घरबाट अपडाउन गर्नुभन्दा यहि बस्दा सहज हुने भएपछि सो मिलाएको अकेलाले बताए ।

गोविन्द अकेला

अस्पतालको प्रयोगशाला हुँदा फाइदा

‘पीसीआर परीक्षण गर्ने अहिले निजी क्षेत्रबाट खुलेका धेरै प्रयोगशाला छन् । तर अस्पतालको समेत सेवा भएको यस्ता प्रयोगशाला कम छ । हामी त्यसकारण पनि फरक हौँ । हामीकहाँ कोभिड शंका लागेर आउने देखि लक्षण लिएर आउनेहरुको सहज परीक्षण हुन्छ र आवश्यकता अनुसार आइसोलेसनमा राखी उपचारको व्यवस्था गर्ने परिपाटी मिलाएका छौँ,’ अकेलाले सुनाए ।

थप स्पष्ट पार्ने क्रममा उनले भने, ‘पीसीआर परीक्षण गर्ने अन्य प्रयोगशालामा रिपोर्ट मात्रै आउने भयो । यदि परीक्षण पछि रिपोर्ट पोजेटिभ आएपछि संक्रमित व्यक्ति कता जाने भन्ने तनाव पनि हुने भयो । तर हामीकहाँ त्यो समस्या छैन् । परीक्षण गरेर यदि पोजेटिभ आयो भने पनि त्यसका लागि आइसोलेसन सेन्टर बनाएका छौँ । त्यहाँ राख्छौँ । अहिले पनि विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमा कोभिड – १९ पोजेटिभ देखिएपछि हामीकहाँ आउनु भएकाको संख्या उल्लेख्य छ । पनि कोरोना पोजेटिभ भएर आएका विरामीहरु हुनुहुन्छ हाम्रो सेवाबाट सबै सन्तुष्ठ नै हुनुहुन्छ ।’

स्टार अस्पतालले कोभिड -१९ बिरुद्धका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको हरेक मापदण्डको अनुसरण गरेको समेत उनले बताए । ‘पछिल्लो पटक मन्त्रालयको निर्देशन निजी अस्पतालले कम्तिमा २० प्रतिशत शैय्या कोभिड १९ का बिरामीका लागि छुट्याउनु भन्ने हो । त्यो हामीले कार्यान्वयन गरेका छौँ । अहिले पनि हामीकहाँ संक्रमित बिरामीको उपचार भइरहेको छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *