‘ट्रमालाई सर्जिकलसम्वन्धी सीप सिक्ने सेन्टरको रुपमा समेत विकसित गर्ने योजनामा छौँ’

- नेपाली हेल्थ

डा. सन्तोष पौडेलले राष्ट्रिय ट्रमा सेन्टरको जिम्मेवारी सम्हालेको पाँच महिना पुग्न सात दिन बाँकी छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गत ८ फागुनमा उनलाई ट्रमाको निमित्त मेडिकल सुपरीटेन्डेनको जिम्मेवारी दिएका थिए । नेतृत्व सम्हाल्दै गर्दा उनले केही योजना सुनाएका थिए । अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको बताउने उनले यो अवधीमा के के काम गरे ? अवको प्राथमिकता के के छन् ? रामप्रसाद न्यौपानेले डा. पौडेलसंग यहि सेरोफेरोमा आधारित रही कुराकानी गरेका थिए ।

तपाईँले राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्व सम्हालेकोे साढे चार महिना नाघ्यो, यो अवधीमा के कस्ता कामहरु गर्नुभयो ?
नेतृत्व सम्हाल्दै गर्दा मैले नै ट्रमा सेन्टरको विकासका लागि अल्पकालिन मध्यकालिन र दीर्घकालिन योजनाका खाका तयार पारेको थिएँ । अहिले त्यहि खाका अनुसार नै कार्यलाई अघि बढाइरहेको छु । कोरोनाका कारण कामको गतिमा केही सुस्तता देखियो पनि होला तर योजना अनुसार नै अघि बढेको छ ।

उसो भए अहिले अल्पकालिन योजना त भइरहेको होला, के के योजना थिए ? के के भए ?
ठिक भन्नु भयो । अल्पकालिन योजनामा जो अत्यन्तै साधारण र साना मानिने तर नगरी नहुने कामहरु राखेको थिएँ । ती कामहरु भएका छन् र भइरहेका पनि छन् । केही उदाहरण दिन चाहन्छु, मैले नेतृत्व सम्हालेपछि पहिलो अस्पतालका उपकरण मर्मतका कुराहरु व्यवस्थित गर्ने कामहरु भएका छन् । आइसोलेसन बेड थिएन, अहिले त्यो व्यवस्था गरियो । दोस्रो, अपरेसन थिएटरमा केन्द्रीत गरयौँ । ट्रमामा ५ वटा अप्रेसन थिएटर सञ्चालनमा थिया, अहिले ६ वटा बनायांै । दुईवटा त अप्रेसन थिएटर कोठा विग्रेको थियो । अब त्यो मर्मत भयो । अब फुल फेजमा चल्न सक्ने भयो ।

चौथो पाँचौँ र छैटौं तल्लामा नर्सिङ स्टेशनहरुको पुर्न निर्माण गरिएको छ । यी स्टेशनहरु बैज्ञानिक र हेर्दा पनि राम्रो बनाएका छौँ । सुरक्षित पनि बनाएका छौँ । डिजिटल अस्पतालको अवधारणा अनुरुप पहिले भन्दा बढी डिजिटलाइज्ड गर्ने प्रयास गरेका छौँ । ल्यावहरुलाई पनि डिजिटलाइज्ड गर्ने । एक्सरे सिटिस्क्यान जस्ता इम्याजिङहरु जो छ त्यो पनि डिजिटलाइज्ड गर्ने सोच छ ।
यस्तै यो बीचमा हामीले वार्डमा क्याविनको व्यवस्था गरेका छौँ । अहिले तीनवटा क्याविन सञ्चालनमा आइसकेका छन् । अझै दुईवटा क्याविन थप्दै छौँ र पाँचवटा क्याविन सञ्चालन गर्ने योजनामा छौं ।
इमरजेन्सीलाई व्यवस्थित गरयौँ । हामीसंग इमरजेन्सीमा छुट्टै आइसोलेसन थिएन । अहिले छ बेडको इमरजेन्सी आइसोलेसन बेड तयार गरेका छौँ । कोभिड १९को महामारी सकिएपछि हामीले ती बेडलाई इमरजेन्सी अव्जरभेसनमा राख्ने योजनामा छौँ ।

नर्सिङ स्टेशन

कोरोना महामारी र जारी लकडाउनमा पनि ट्रमा सेन्टरमा भर्ना भएका बिरामीको संख्या भरिभराउ देखियो, सबै अस्पतालमा बिरामी कम भइरहेका बेला यहाँ किन घटेन ?
यसमा दुईवटा कारण छन् । एउटा हामीकहाँ दुर्गम गाँउबाट उपचारका लागि आउँछन् । किनभने यो सरकारी अस्पताल हो । शहरतिर हुने सवारी दुर्घटनाको धेरैजसो केशहरु धेरै जसो निजी अस्पतालमा जाने गरेका छन् । उनीहरुको थर्ड पार्टी इन्स्योरेन्सहरु हुने कारणले गर्दा निजीमा जाने चलन रहेछ । तर अहिले अरु अस्पतालले सर्जिकल सेवा नदिदा खेरी हामीकहाँ विरामीहरु बढी देखिएको हो । उपत्यकाका ठूला अस्पतालहरु पाटनमा कोभिड व्यवस्थापनमा लागेको छ । त्रिवि शिक्षण पनि बढी कोभिड १९ मै बढी फोकस छ । अरु विरामीहरु जो मध्यमस्तरका थिए उनीहरु हामीकहाँ बढी डाइभर्ट भए ।
अर्कोकुरा हामी कोरोनाका कारण सेवा रोकेनौँ । शुरु देखि नै जब कोरोना महामारी शुरु भयो र जुन बेला देखि लकडाउन भयो, कुनै दिन पनि सेवा बन्द गरेका छैनौँ । जस्तो सुकै अवस्था आउँदा पनि सेवा सुचारु गरेका छौँ । त्यसले आम जनमानसमा विश्वास पनि दिलायो । ट्रमामा गएपछि यत्तिकै फर्किनु पर्दैन, उपचार हुन्छ भन्ने हामीले जो म्यासेज दिन सक्यौँ त्यसले गर्दा पनि बिरामीको चाप बढी भएको हामीलाई लागेको छ ।

यहाँ अहिले कस्ता बिरामी बढी छन् ?
हामी ट्रमा सेन्टर भएकोले मुख्य त हामीले चोटपटक कै विरामी हेर्ने हो । त्यसबाहेक हाडजोर्नी विभाग वीर अस्पतालमा नहुँदा खेरी हाडजोर्नीका पुराना समस्याको पनि उपचार गरिरहेका छौँ । तर अहिले हामीकहाँ ती उपचारहरु अलि कम छन् । बढी चाँही ट्रमा नै छन् । त्यसैले ट्रमाको चाप बढेको छ । ट्रमा सर्जरी गरिरहेका छौँ ।

दैनिक जसो कति सर्जरी हुन्छ ?
दैनिक जसो ८ देखि १० जनाको सर्जरी रुटिनमा हुन्छ । इमरजेन्सीमा दैनिक ४ देखि ६ जनाको शल्यक्रिया हुन्छ । त्यो अनुपातमा हामीले सर्जरी नियमित रुपमा गरिरहेका छौँ ।

अस्पताल सुधारका लागि अरु योजना योजना योजना के के छन् ?
अस्पताल सुधारका लागि हामीले विस्तारित अस्पताल सेवा कार्यक्रम इएचएस त्यो अप्रेसनमा मात्रै लागू थियो । हुन त अहिले त्यो कार्यक्रम कोभिडको कारणले विस्तारित सेवा कार्यक्रम रोकेका छौँ तर अब त्यो अप्रेसनमा मात्रै नभई ओपीडी र डाईग्नोस्टिक, अल्ट्रासाउन्ड तथा सिटिस्क्यान लगाएत अरु सेवामा पनि इएचएस लागू गर्दैछौँ । त्यसको लागि समिति बनाई त्यसले प्रतिवेदन समेत तयार पारिसकेको छ ।

दोस्रो यसलाई राष्ट्रिय ट्रमा विकास केन्द्रको रुपमा विकास गर्न खोजेका छौँ । यसले राष्ट्रिय ट्रमा प्रोटोकल (ट्रमाको उपचार कसरी गर्ने ? ) प्राथमिक स्वास्थ्य केन्द्र वा प्रादेशिक अस्पतालमा ट्रमाको उपचार कसरी गर्ने ? भन्ने खालका प्रोटोकल तथा ट्रिटमेन्ट गाइडलाइनहरु बनाउनुपर्ने जिम्मेवारी पनि राष्ट्रिय ट्रमा सेन्टरको हो । अब हामी त्यसमा काम गर्न खोज्दैछौँ ।

अर्को भनेको ट्रमाका बिरामी कहाँ कसरी कुन अवस्थामा आए भन्ने कुरा हेर्ने ट्रमा रजिष्ट्री भन्ने हुन्छ ।  विकसित देशहरुमा ट्रमा रजिष्ट्रीलाई अत्यन्त महत्व दिइएको हुन्छ । त्यो भनेको ट्रमाको रेकर्ड किपिङ हो । कुन समयमा कस्तो दुर्घटना भएर कुन उमेर समूहका मान्छे बढी ट्रमाको प्रकोपमा छन् भन्नेकुरा हेर्ने र त्यो हेरिसकेपछि उपचार कसरी गर्ने ? उपचार मात्रै होइन त्यसले राष्ट्रिय नीतिलाई कसरी गाइड गर्ने ? भन्ने कुरापनि त्यो डेटाबाट आउँछ । त्यो रजिष्ट्रीको काम अहिले हाम्रो अस्पतालमा मात्रै छ । त्यसलाई अब राष्ट्रिय स्तरमा सञ्जाल बनाएर लैजानु पर्छ भन्ने छ । यसमा काम पनि गरिरहेका छौँ । यसमा विश्व स्वास्थ्य संगठनसंग पनि सहकार्य गरिरहेका छौँ । अहिले छलफलको चरणमा छ र चाँडैनै कार्यान्वयनको तहमा लैजादै छौँ ।

यस्तै अर्को भनेको रिसर्च हो । ट्रमासम्वन्धी रिसर्च गर्नुपर्ने छ हामीले । त्यसका लागि अघि भनेको ट्रमा रजिष्ट्रीको कुरा महत्वपूर्ण हुन्छ । त्यहाँबाट अनुसन्धानका लागि महत्वपूर्ण रुपमा तथ्यांक प्राप्त गर्न सकिन्छ । र विभिन्न खालको रिसर्च हामीले सुरु गर्नुपर्ने भएको छ । त्यो बाहेक हामीले ट्रमा सम्वन्धी एम्बुलेन्स सेवा हरु ।

देशभरी नै ट्रमाको सञ्जाल बनाउने र त्यसलाई कसरी ट्रमाको एम्बुलेन्ससंग जोड्ने ? भनेर अहिले त राष्ट्रिय कार्यक्रममा समेत आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको लागि कार्यविधि बनाउन समिति गठन गरिसकेको छ । म पनि त्यसको सदस्य छु । त्यसमा पनि हामीले काम गर्दैछौँ ।

त्यो देशका लागि दुरगामी महत्वको विषय हो जस्तो लाग्छ । त्यसमा पनि के परिकल्पना गरिएको छ भने राष्ट्रिय ट्रमा सेन्टर त्यो ट्रमा सेन्टरहरुको एपेक्स बडीको रुपमा राख्ने भन्ने छ । सबै विज्ञहरुले पनि त्यहि नै सुझाव दिनु भएको छ ।

चार महिना अघि तपाईँले पद सम्हाल्दै गर्दा गरेका प्रतिवद्धता बनाएका सोचहरु कत्तिको कार्यान्वयन भएका छन् ?
म लगभग त्यहि योजनाका साथ हिडिरहेको छु । कोरोनाका कारणले मेरो गतिमा असर त परेको छ । संयोग भनौ हामी नै देशको पहिलो अस्पताल हो जसले पीसीआर गरेर शल्यक्रिया शुरु गरयौँ । संयोग भनौँ अहिलेसम्म कोरोना संक्रमित विरामी भेटिएको छैन् । कोभिडको कारणले आजसम्म एक दिन पनि सेवा रोकेनौँ ।

धेरै अस्पतालले प्लानिङ गर्न रोके । शुरुका दिनमा हामीलाई पनि निकै अप्ठेरो र अलमल भएको थियो । तर अप्रेसन गर्ने प्लानिङमा हामीसंग त्यसबेला नै ६०- ७० जना भर्ना भएका विरामीहरु पर्खाईमा हुनुहुन्यो । उहाँहरुलाई फर्काउने कुरा पनि भएन भनेर काम शुरु गरियो । जब लकडाउन लम्बिन थाल्यो बिरामीको चाप त यहाँ झन् बढ्न थाल्यो । त्यसकारण ट्रमा सेन्टरमा कोभिडको कारणले फुर्सद भयो भन्नै पाइएन । त्यसकारण हामीले सोचेकै गतिमा काम भइरहेको छ भन्दा पनि हुन्छ । र मैले आएपछि शुरुको निर्णय गरेको जो थियो ‘स्पाइन इन्जुरीको विरामीलाई निशुल्क इम्प्लान्ट पनि दिने’ भन्ने त्यो कार्यान्वनय भइसक्यो । मैले पद सम्हालेकै हप्ताबाट कार्यान्वयनमा आएको हो । अहिलेसम्म ५५ जना बिरामीलाई लगभग ५५ हजार औषतका दरले खर्च हुने करीब ३० लाख ३० हजार रकम निशुल्क सेवा दिएका छौँ । लगभग सबैजसो स्पाइन इन्जुरीका विपन्न विरामीले १ लाख भित्र उपचार सकेर घर फर्किनसक्ने अवस्था बनाएका छौँ । यो योजना नल्याउँदासम्म उहाँहरुको इम्प्लान्टको खर्च छुट्टै हुन्थ्यो । बाहिरबाट ल्याएर इम्प्लान्ट बुझाउनु हुन्थ्यो । अस्पतालको सेवा निशुल्क भनिएपनि उहाँहरुलाई ठूलो आर्थिक भार परेको थियो ।

आइसोलेसन वार्ड

यो कति बेडको अस्पताल हो ?
कुल २०० बेडको अस्पताल हो । अकुपेन्सी दर दैनिक नै ९० प्रतिशत माथि हुन्छ । हाम्रो इमरजेन्सी ठूलो छ । अहिले ३७ बेड सञ्चालनमा छ इमरजेन्सीमा । हामीले कुल मिलाएर ५० बेडकै इमरजेन्सी पनि बनाउन सक्छौँ । त्यसो त २५ बेडमा चले पनि हुने हो । तर हामीले अहिले विरामीलाई सेवा दिन पर्छ भनेर ३७ केडमा आकस्मिक सेवा दिएका छौँ । अरु अस्पतालमा जस्तो इमरजेन्सीमा यति घण्टा बस्नु पर्छ भन्न सकिदैन । यति जनाको लागि मात्रै बेड छ भन्न पनि सकिएको छैन् । विचरा टाढा बाट आएको एक व्यक्तिलाई उपचार गर्नै पर्छ लाग्छ । उपचार पाएरै फर्कियोस भन्ने लाग्छ ।

जनशक्तिको कुरा कस्तो छ ?
डाक्टरको तुलनात्मक रुपमा ठिकै छ । हाडजोर्नी त हामीलाई पुग्दै छ । आवश्यकता भन्दा केही बढी पनि छ । एनेस्थेसिया र न्युरो सर्जनको संख्या अलि कम छ । तर पनि न्याम्सको रेजिडेन्सी प्रोग्राम चलेको हुनाले त्यस्तो समस्या छैन् । अर्को भनेको भास्कुलर सर्जनको अलिकति समस्या छ । तर व्याकअपमा न्याम्स छँदैछ जहिले पनि । फिजिसियन पनि बीरको व्याकअप छ । र आफ्नै फिजिसियनको दरबन्दी हुनसके अझै राम्रो हुन्छ भन्ने हो । अब भविस्यको योजनामा हामीले इमरजेन्सीलाई अझ व्यवस्थि तगर्ने भन्ने हो । हामीले भेन्टिलेटर सहितको इमरजेन्सी सुरु गरेका छौँ ।

अब हाम्रो अस्पतालमा कुन विरामी आयो र उसलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था देखियो भने पनि हाम्रो इमरजेन्सीमै भेन्टिलेटर राखेका छौँ । मेरो बिचारमा इमरजेन्सीमा भेन्टिलेटर राख्ने यो नै पहिलो अस्पताल हो । अहिलेसम्म त्यो सेवा पाँच जना बिरामीले लिईसक्नु भयो । चोटपटकको विरामीलाई भेन्टिलेटर चाहिन्छ तर खोज्दा खोज्दै विरामीको ज्यान गईसक्छ । त्यसैले हामीले यो व्यवस्था मिलाएका हौँ ।

दोस्रो कुरा विरामीको ट्रान्सपोर्ट गर्दा पनि भेन्टिलेटर सहित ट्रान्सपोर्ट गर्नु परयो । त्यसका लागि भेन्टिलेटर सहितको एम्बुलेन्स हुनुपरयो भनेर अहिले आइसीयू सेटअप सहितको एम्बुलेन्स अवधारणा ल्याएर खरीद प्रक्रियाको धेरै अगाडी पुगिसकेका छौँ । अबको तीन महिनामा त्यो एम्बुलेन्स पनि आइपुग्छ । क बर्गको एम्बुलेन्स हो । सम्भवत यो पनि नेपालको लागि पहिलो हुनेछ ।

इटिकटिङको डिजिटिल सिस्टम बनाउनु सक्छौँ ।

ट्रमा पछिको पुनस्थापना एकदमै नेग्लेक्टेड पार्ट बनेको छ । पुर्नस्थापना केन्द्रहरु बनाउनु पर्ने छ । त्यो संयन्त्र बनाउनुपर्छ भन्ने मेरो महत्व छ । सर्जिकल सम्वन्धी तालिम दिने सीप सिक्ने सेन्टर नेपालमै बनाउनु पर्छ र त्यो ट्रमा सेन्टर उपयुक्त स्थान हुनेछ भन्ने हिसावले योजना बनाएका छौँ ।

अब सर्जरी क्यारावाड ( डेडबडी) मा पहिले अप्रेसन गर्न सिकेर मात्रै जिउदो मान्छेमा अप्रेसन गर्ने भन्ने योजना छ । यो पछिल्लो समय संसार भरी नै प्रसिद्ध छ । क्याडाभर्ड ल्याव भन्छ मृत शरीरमा सिकेर जिउदोमा प्रयोग गर्ने । अहिले हामीले सिनियर गुरुहरुले गरेको हेरेर सिक्ने हो । तर अब मृत शरीरमा प्राक्टिस गर्ने भन्ने योजना गर्दैछौँ ।

 

थप समाचार


Facebook Comment