अब स्वास्थ्यले बनाएको स्वास्थ्य शिक्षा तथा सूचना सामग्री हुलाक सेवामार्फत देशभर पुग्ने

काठमाडौँ, ३ जेठ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका गोदाम अहिले पनि प्रसस्त मात्रामा जिल्ला पठाउन ठिक्क पारेका स्वास्थ्य शिक्षा तथा सूचना सामग्री (पोस्टर, ब्रोसर, पुस्तिका, सचेतना सामग्री आदि) ले भरिएको छ ।
केन्द्रले आफूसंग प्रसस्त सामग्री भए पनि आवश्यक समयमा सम्वन्धीत जिल्लास्थित कार्यालयमा ती सामग्रीहरु पठाउन वा पुराउन सकिरहेको थिएन ।
तर, शुक्रबारबाट अवस्था बदलिएको छ ।
केन्द्रले यस्ता सामग्री ढुवानी तथा वितरणका लागि अब हुलाक सेवा विभागको मद्धत लिने छ ।
त्यही सहकार्यका लागि शुक्रबार हुलाक सेवा विभाग र केन्द्रबीच सम्झौता सम्पन्न भएको छ। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी र केन्द्रकी निर्देशक डा. राधिका थपलियाले सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौताअन्तर्गत हुलाक सेवा विभाग मार्फत स्वास्थ्य शिक्षा तथा सूचना सामग्री (पोस्टर, ब्रोसर, पुस्तिका, सचेतना सामग्री आदि) को ढुवानी र वितरण गरिने बताइएको छ ।
केन्द्रकी निर्देशक डा थपलिया भन्छिन्, ‘यो सम्झौँताले देशभरका स्वास्थ्य शिक्षा कार्यक्रमहरूलाई थप प्रभावकारी, छिटो र पहुँचयोग्य बनाउन मद्दत गर्नेछ।’
उता हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले स्वास्थ्यका महत्वपूर्ण सामग्रीहरुलाई स्थानीय तहसम्म सहज र छरितो रुपमा पुर्याउँने उदेश्यले ढुवानी तथा वितरणको जिम्मा लिइएको बताईन ।
‘हाम्रो ७५३ तहसम्म नै नेटवर्क छ, अझ वडा तहसम्म पनि हुलाकी मार्फत सेवा पुगेको अवस्था छ । स्वास्थ्यका सामग्रीहरु पनि स्थानीय र वडा तहसम्म नै पुग्न जरुरी रहेछ । त्यसैले दुई सरकारी निकायले काममा समन्वय गरेर अघि बढ्ने निधो गरियो,’ उनले भनिन् ।
त्यसो त हुलाक सेवा विभागले समय सापेक्ष रुपमा सेवाको प्रकृतिलाई पनि परिमार्जन गर्दै लगेको छ । महानिर्देशक भट्टराईले स्वास्थ्यका ढुवानी सम्वन्धी अन्य सेवाहरुमा पनि सहकार्य गर्न सकिने भन्दै त्यसलाई अघि बढाउने विषयमा पनि विभाग सकारात्मक रहेको बताईन ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

