सार्क मुलुकमा नेपाल पिसिआर परीक्षणमा अगाडि

काठमाडौँ, २४ असार । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९)परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।

प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ ।

शुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ । नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ र अफगानिस्थानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण गरिएको छ भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । नेपालमा कूल १६ हजार ४२३ जना सङ्क्रमित भएका छन् । तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेको उनले बताए।

प्रवक्ता डा गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमो कोभिड–१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणले ३५ जनाको मृत्यु भएको छ । यस्तै कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बङ्गलादेशमा १३, श्रीलङ्कामा ०।५, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ ।

कोरोना परीक्षण शुल्क लिए कारवाही गर्ने

प्रवक्ता गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको बताए । सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने उनले बताए । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ ।

बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उनको भनाइ छ । उनले चिया पसलमा भीडभाड गर्नुको साटो घरभित्रै परिवारसँग बस्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, “चाडपर्व, जात्रा, मेला अरू समयमा पनि आउने भएकाले अहिले नागरिकले स्वास्थ्य सावधानी अपनाउनुपर्छ ।”

प्रवक्ता गौतमले कतिपय स्थानमा सङ्क्रमणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने खबर आइरहेको बताए । त्यस्ता व्यक्तिलाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।

पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ६९६ जनाको नमूना परीक्षण गर्दा नेपालमा थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *