भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २५ हजार सङ्क्रमित

0
Shares


नयाँ दिल्ली, २१ असार । कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् ।

सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।

दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।

तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।   रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *